Butwal Today

कानुनमन्त्रीसँग बेलायती राजदूतको शिष्टाचार भेट

१७ भाद्र २०८३, बुधबार
अ+
अ-

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि बेलायतका राजदूत रब फेनले शिष्टाचार भेट गरेका छन् ।

आज मन्त्रालयमा भएको भेटमा उनीहरूबीच जलवायु परिवर्तनका कारण भइरहेको अपूरणीय क्षति र त्यसको ठूलो जोखिम नेपालले बेहोर्नुपरेको विषयमा छलफल भएको थियो ।

मन्त्री गौतमले अप्रत्याशित बाढीपछि विकासलाई विपद् प्रतिरोधी बनाउने विषयलाई नेपालले प्राथमिकतामा राख्ने बताइन् । उनले दिगो र उत्थानशील विकासका लागि मित्रराष्ट्र र दातृ निकायको सहयोग निरन्तर रहने विश्वास व्यक्त गरिन् ।

सो अवसरमा राजदूत फेनले भोटेकोशी बाढीबाट निम्तिएको अप्रत्याशित विपद्बाट भएको मानवीय क्षतिप्रति समवेदना प्रकट गर्दै सम्पर्कविहीन व्यक्तिहरूको खोजी कार्यलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । राजदूत फेनले आर्थिक, प्राविधिक र मानव स्रोतमार्फत विकासका कार्य तथा पुनःस्थापनाका लागि बेलायत सरकारले आपसी सहयोग र समन्वयलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?