© 2026
काठमाडौँ । बाढीपहिरोपछि जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको खोज तथा उद्धारका लागि नेपाली सेनासहितको संयुक्त टोली परिचालन गरिएको छ। भदौ १७ गते बिहान ११ बजेसम्मको विवरणअनुसार विभिन्न आयोजनाका सुरुङमा खोज तथा उद्धार कार्य जारी रहेको छ।
रसुवागढी हाइड्रोपावरमा उद्धार टोली सुरुङभित्र करिब १५० मिटर पुगेको छ। तर ठूला चट्टानका कारण थप अघि बढ्न नसकेपछि आज पुनः खोज तथा उद्धार कार्य जारी राखिएको छ। लाङटाङ हाइड्रोमा विदेशी प्राविधिकसहित २५ जनाको संयुक्त टोलीले सुरुङभित्र करिब १५० मिटरसम्म प्रवेश गरी खोज तथा उद्धार गरिरहेको छ। चिलिमे हाइड्रोमा पनि विदेशी प्राविधिक सहितको संयुक्त टोली परिचालन गरिएको छ। अपर त्रिशूली–१, हाँकुमा नेपाली सेनाको टोलीले खोज तथा उद्धार कार्य गरिरहेको छ।
त्रिशूली–३ ए आयोजनामा नेपाली सेनासहित ९३ जनाको संयुक्त उद्धार टोलीले तीनवटा स्काभेटर र एउटा बोबक्याट प्रयोग गरी माटो पन्छाउने काम गरेको छ। कम्प्रेसर मेसिन, ब्रेकर तथा ब्लास्टिङको प्रयोगपछि सुरुङको आउटलेट भेटिएको छ। वर्षाका कारण राति जमेको करिब १।५ मिटर पानी पम्पमार्फत बाहिर निकाल्ने कार्यसमेत गरिएको छ। त्यस्तै, त्रिशूली–३ बी आयोजनामा नेपाली सेनाका ६१ जना, तीन गैरसैनिक र आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त टोलीले आयोजनाको कार्यालय तथा आवास क्षेत्र पहिचान गरेको छ। उक्त क्षेत्रमा पुग्न एक्स्काभेटरमार्फत बाटो निर्माण भइरहेको छ।
प्रभावित क्षेत्रमा खोज तथा उद्धार तीव्र
जमिनतर्फ पनि प्रभावित क्षेत्रका जङ्गल, डाँडा, खोला तथा बस्तीमा पैदल गस्ती गरी स्थानीयको अवस्था बुझ्ने र उद्धारको आवश्यकता मूल्याङ्कन गर्ने कार्य भइरहेको छ।त्रिशूलीपारिको कोलोनीदेखि तुप्चे, सोले बजार तथा नुवाकोट जिल्लाका विभिन्न स्थानमा खोज तथा उद्धार कार्य जारी रहेको छ। टिमुरे क्षेत्रमा फेला परेका शव व्यवस्थापनका लागि त्रिशूलीसम्म ल्याउन ‘स्लिङ लोड अपरेसन’समेत सुरु गरिएको छ।
रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रमा नेपाली सेनाका ९ हजार २ सयभन्दा बढी फौज प्रत्यक्ष रूपमा परिचालन गरिएको छ। सेनाका अनुसार खटिएका टोलीले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक सञ्चालन तथा आपत्कालीन उपचारलगायतका काम समन्वयात्मक रूपमा गरिरहेका छन्।