© 2026
काठमाडौं । उपसभामुख रुबीकुमारी ठाकुरको आडमा सामाजिक सञ्जालमा आपत्तिजनक तथा अश्लील सामग्री फैलाउँदै आएको आरोप लागेका दिपकजंग ठाकुरविरुद्ध जिल्ला अदालत काठमाडौंले जारी गरेको पक्राउ पुर्जी कार्यान्वयन नभएको खुलेको छ। ठाकुरले आफ्नो फेसबुक प्रोफाइलमार्फत व्यक्तिको नामै किटेर आपत्तिजनक सामग्री निरन्तर पोस्ट गर्दै आएको भन्दै साइबर ब्युरोमा उजुरी परेको थियो। उजुरीपछि जिल्ला अदालत काठमाडौंले असार २५ गते उनलाई पक्राउ गर्न अनुमति दिएको बताइएको छ। तर, अदालतबाट पक्राउ अनुमति जारी भएको लामो समय बितिसक्दा पनि प्रहरीले उनलाई पक्राउ गरेको छैन।
जनआस्था साप्ताहिकमा असार १७ गते प्रकाशित एक समाचारलाई लिएर दिपकजंगले सम्पादक किशोर श्रेष्ठको परिवारलाई लक्षित गरी निरन्तर आपत्तिजनक स्टाटस लेखेपछि असार २३ गते साइबर ब्युरोमा उजुरी परेको थियो। त्यसको दुई दिनपछि अदालतबाट पक्राउ अनुमति जारी भएको जनाइएको छ। स्रोतका अनुसार पुर्जी जारी भएकै दिन ठाकुरलाई पक्राउ गर्ने तयारी प्रहरीले गरेको थियो। तर, उपसभामुख रुबीकुमारी ठाकुरले गृहमन्त्री सुधन गुरुङमार्फत दबाब दिएपछि पक्राउ प्रक्रिया रोकिएको दाबी स्रोतको छ। यद्यपि, यसबारे प्रहरी वा सम्बन्धित पक्षबाट औपचारिक पुष्टि भएको छैन।
प्रेस काउन्सिल नेपालले समेत साइबर ब्युरोबाट ठाकुरविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको जानकारी प्राप्त भएको जनाएको बताइएको छ। लामो समयसम्म पक्राउ नपरेपछि काउन्सिलले ब्युरोसँग जानकारी मागेको र जवाफमा ठाकुर फरार रहेकाले खोजी भइरहेको जानकारी प्राप्त भएको स्रोतको दाबी छ। मधेश म्यारिज ब्युरोका प्रमुखसमेत रहेका तथा हाल कोटेश्वर क्षेत्रमा बस्दै आएका ठाकुर फरार रहेको भन्दै सम्बन्धित प्रहरी कार्यालयलाई खोजीका लागि पत्राचार गरिएको बताइएको छ।
तर, फरार सूचीमा रहेको भनिएका ठाकुर जनैपूर्णिमाका दिन उपसभामुख रुबीकुमारी ठाकुरसँग राखी बाँध्न ललितपुरको भैँसेपाटीस्थित सरकारी क्वार्टर पुगेको दाबी गरिएको छ। उपसभामुख रुबीले उनलाई राखी बाँधेको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन्। प्रहरीको खोजीमा रहेका भनिएका व्यक्ति सरकारी निवासमै पुगेको अवस्थामा समेत पक्राउ नपर्नुले प्रहरीको भूमिकामाथि प्रश्न उठेको छ। दिपकजंग श्रम संस्कृति पार्टीका निवर्तमान मधेश प्रदेश प्रमुखसमेत रहेको बताइएको छ। उनीमाथि एक युवतीलाई पीडित बनाएको आरोपसहित समाचार प्रकाशित भएपछि पार्टी अध्यक्ष हर्क साम्पाङले उनलाई तत्काल पार्टीबाट निलम्बन गरेका थिए।
त्यसपछि ठाकुरले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठविरुद्ध सामाजिक सञ्जालमा निरन्तर आपत्तिजनक सामग्री पोस्ट गर्दै आएको आरोप छ। यसैबीच उपसभामुख रुबीले प्रेस काउन्सिलमा दिएको उजुरीका आधारमा श्रेष्ठलाई प्रहरीले पक्राउ गर्ने प्रयास गरेको बताइएको छ। अर्को घटनामा एक महिलालाई जबर्जस्ती उजुरी हाल्न लगाएको आरोपमा असार २७ गते पक्राउ परेका श्रेष्ठ सर्वोच्च अदालतको आदेशपछि रिहा भएका थिए। त्यसपछि उनलाई पुनः पक्राउ गर्ने प्रयास सफल नभएको बताइएको छ। अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको भनिएका दिपकजंग ठाकुर लामो समयसम्म पक्राउ नपर्नु र सरकारी निवासमा समेत पुगेको दाबी सार्वजनिक हुनुले कानुन कार्यान्वयनमा पहुँच र प्रभावको प्रश्न उठाएको छ।