© 2026
गण्डकी ।
रसुवाको भोटेकोशी नदीमा गत बुधबार गएको बाढीमा मृत्युवरण गरी हालसम्म पहिचान हुन नसकेका शव कानुनी प्रक्रियाअनुसार जमिनमुनि व्यवस्थापन गरिने भएको छ ।
नवलपुर, धादिङ, तनहुँ र गोरखाबाट पोखरा ल्याइएका एक सय दुई शवमध्ये सोमबारसम्म जम्मा १६ शव पहिचान गरी आफन्तलाई बुझाइएको कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले बताए ।
“शव पहिचान गरी आफन्तलाई बुझाउन नसकिएका बाँकी शवलाई जमिनमुनि व्यवस्थापन गर्छौं”, उनले भने, “डिएनए नमूना सङ्कलनसहित सम्पूर्ण कानुनी र वैज्ञानिक प्रक्रिया पूरा गरेर मात्र शव व्यवस्थापनको काम हुन्छ ।” डिएनएसँग मेल खाएमा पछि पुनः पहिचान गरी आफन्तलाई शव बुझाउन मिल्ने गरी व्यवस्थापन गरिने प्रजिअ गुरुङको भनाइ छ ।
पहिचान हुन नसकेका शवलाई पहिचान हुन नसकेका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिकाअनुसार व्यवस्थापन गरिने उनले बताए । शव व्यवस्थापनका लागि सम्भावित स्थलको खोजीलगायत अन्य व्यवस्थापकीय तथा प्राविधिक तयारी भइसकेको उनको भनाइ छ । अस्पतालमा राखिएका सबै शवको परीक्षण भइसकेको जनाइएको छ ।
शव पहिचानका लागि तस्बिर स्क्रिनमा राखेर आफन्तलाई हेर्ने व्यवस्था मिलाइएको छ । आफन्तहरु तस्बिर हेरेर शव पहिचान गर्ने प्रयासमा छन् । शवको खोजीमा आएका आफन्तहरुलाई खाना र बासको व्यवस्था मिलाइएको प्रजिअ गुरुङले बताए । शव पहिचानका लागि अस्पताल परिसरमा सहायता कक्ष पनि राखिएको छ ।
बाढीले बगाएर शव विभिन्न जिल्लामा पु¥याएका कारण शव पहिचान नै जटिल बन्दै गएको छ । कतिपय शव क्षतविक्षत भएकाले चिन्नै नसिकिने अवस्थामा रहेको जनाइएको छ । नवलपुरबाट ४१, धादिङबाट २७, तनहुँबाट २३ र गोरखाबाट ११ शव पहिचान तथा परीक्षणका लागि पोखरा ल्याइएको थियो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र मणिपाल शिक्षण अस्पतालमा शव राखिएको छ ।