Butwal Today

लुम्बिनी प्रदेश सरकारले शव व्यबस्थापनमा स्थलगत निरिक्षण

१६ भाद्र २०८३, मंगलवार
अ+
अ-

नवलपरासी पश्चिम ।लुम्बिनी प्रदेश सरकारले बाढी–पहिरोमा बेपत्ता नागरिकको र शव व्यबस्थापन बिषयमा स्थलगत अनुगमन गरेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बाढी तथा पहिरोका कारण बेपत्ता भएका नागरिकका परिवारलाई राज्यले अभिभावकत्व प्रदान गर्ने बताएका छन्। मंगलबार पश्चिम नवलपरासीको रामग्राम–५ स्थित पृथ्वीचन्द्र अस्पतालमा बाढी प्रभावित क्षेत्रबाट नारायणी नदी हुँदै बगेर आएका शवको व्यवस्थापन, पहिचान तथा अवस्थाबारे जानकारी लिने क्रममा आयोजित छलफलमा मुख्यमन्त्री आचार्यले विपत्तिका कारण परिवारको मुख्य आयस्रोत गुमेमा संघ, प्रदेश र स्थानीय सरकारले आवश्यक साथ र सहयोग गर्नुपर्ने बताए। रोजगारीका सिलसिलामा घरबाहिर गएका नागरिक विपत्तिमा परेपछि परिवार नै अलपत्र पर्ने अवस्था आउन सक्ने भन्दै उनले त्यस्ता परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन सरकार गम्भीर रहेको बताए।

“पीडा सिंगो देशलाई परेको छ। पीडा पर्‍यो भनेर शोकमा रहेर पनि काममा जुट्नुपर्ने अवस्था छ,” मुख्यमन्त्री आचार्यले भने, “रोजगारीको सिलसिलामा बाहिर जानुभएका हाम्रा नागरिक अहिले पनि शिविरमा बस्नुपर्ने अवस्था छ। कतिपय काठमाडौंमा हुनुहुन्छ। उहाँहरूलाई घरमा ल्याउन स्थानीय सरकार र प्रदेश सरकारको भूमिका महत्वपूर्ण हुन्छ। त्यो भूमिका हामीले निर्वाह गरिरहेका छौँ।”

बेपत्ता नागरिकका परिवारलाई ढाडस दिने तथा प्रदेश र स्थानीय सरकारबाट कस्तो साथ र सहयोग गर्न सकिन्छ भन्ने विषयमा गम्भीर छलफल आवश्यक रहेको उनले बताए। परिवारको मुख्य आयस्रोतको रूपमा रहेका व्यक्ति विपत्तिमा परी ज्यान गुमाउँदा वा बेपत्ता हुँदा उनीहरूमाथि आश्रित परिवार नै अलपत्र पर्ने भएकाले राज्यले अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो। मुख्यमन्त्री आचार्यले बेपत्ता नागरिकको खोजी तथा राहत र उद्धारका विषयमा प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायसँग निरन्तर समन्वय भइरहेको जानकारी दिए। नारायणी नदीमा आएको बाढीका कारण सुस्ता क्षेत्रमा पर्न सक्ने जोखिमप्रति समेत प्रदेश सरकारले विशेष ध्यान दिएको उनले बताए।

शव व्यवस्थापनमा संवेदनशील भएर काम गर्न निर्देशन

बाढीका कारण नारायणी नदीको बहाव पश्चिम नवलपरासी क्षेत्रमा समेत प्रभावित भएपछि शव व्यवस्थापनमा स्थानीय प्रशासन, सुरक्षा निकाय, स्वास्थ्यकर्मी तथा कर्मचारीले निर्वाह गरेको भूमिकाको मुख्यमन्त्री आचार्यले प्रशंसा गरे। “नारायणी यहीँबाट बगेका कारण तपाईँहरूलाई धेरै प्रेसर भयो। यहाँहरूले धेरै राम्रो भूमिका निर्वाह गर्नुभयो। शव व्यवस्थापनका लागि अहोरात्र खटिनुभयो र जिम्मेवारीपूर्ण ढंगले काम गर्नुभयो,” उनले भने, “प्रदेश सरकारको तर्फबाट धन्यवाद दिन चाहन्छु।”

उनले शवको संरक्षण तथा पहिचानमा स्वास्थ्यकर्मीले निर्वाह गरेको भूमिकाको समेत प्रशंसा गरे। शव बिग्रिन नदिन तथा पहिचान गर्न सहज बनाउन स्वास्थ्यकर्मीले महत्वपूर्ण भूमिका खेलेको भन्दै उनले उनीहरूको योगदानको उच्च प्रशंसा गरे। शव व्यवस्थापनमा कुनै पनि कमजोरी हुन नदिने गरी संवेदनशील भएर काम गर्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री आचार्यले शव व्यवस्थापनमा खटिएका सबै तहका कर्मचारीको सम्मान तथा उनीहरूप्रति गरिने व्यवहारमा समेत विशेष ध्यान दिनुपर्ने बताए।

स्वास्थ्य मन्त्री पुन शव पहिचान र उपचार व्यवस्थापनलाई प्राथमिकता

स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुनले बाढी तथा पहिरोका कारण प्रभावित नागरिकको स्वास्थ्य सुरक्षालाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताए।उनले बाढी प्रभावित क्षेत्रबाट फेला परेका शवको सुरक्षित व्यवस्थापन, पहिचान तथा आवश्यक स्वास्थ्यसम्बन्धी प्रक्रिया पूरा गर्न स्वास्थ्यकर्मीहरूलाई परिचालन गरिएको जानकारी दिए। मन्त्री पुनले विपत्तिका बेला घाइते तथा प्रभावित नागरिकलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउनुका साथै शव व्यवस्थापनमा समेत स्वास्थ्य क्षेत्रबाट आवश्यक सहयोग निरन्तर रहने बताए। उनले स्वास्थ्यकर्मीलाई संवेदनशील र जिम्मेवार भएर काम गर्न निर्देशन दिँदै प्रभावित नागरिक तथा परिवारलाई आवश्यक परामर्श र सहयोग उपलब्ध गराउनुपर्नेमा जोड दिए।

आन्तरिक मामिला मन्त्री अहिर खोज, उद्धार र समन्वय तीव्र बनाइने

आन्तरिक मामिला तथा सञ्चार मन्त्री भण्डारीलाल अहिरले बेपत्ता नागरिकको खोजी, उद्धार तथा विपद् व्यवस्थापनका लागि सुरक्षा निकाय र स्थानीय तहसँग निरन्तर समन्वय भइरहेको बताए। उनले विपत्तिमा परेका नागरिक तथा उनीहरूका परिवारलाई आवश्यक राहत र सहयोग उपलब्ध गराउन प्रदेश सरकार सक्रिय रहेको जानकारी दिए। बेपत्ता नागरिकको खोजी तथा फेला परेका शवको पहिचान गरी सम्बन्धित परिवारसम्म पुर्‍याउने कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको उनको भनाइ छ। मन्त्री अहिरले आगामी दिनमा समेत सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासन, सुरक्षा निकाय तथा स्थानीय तहलाई आवश्यक तयारी र समन्वयलाई प्रभावकारी बनाउन निर्देशन दिइएको बताए।

शव पहिचान र परिवारसम्म पुर्‍याउने काम प्राथमिकतामा

लुम्बिनी प्रदेश सरकारले मंगलबार नै लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल तथा पश्चिम नवलपरासीमा शव व्यवस्थापन गरिएको स्थलको अनुगमन गरी अवस्थाबारे जानकारी लिएका थिए। रसुवा लगायतका बाढी प्रभावित क्षेत्रमा ज्यान गुमाएका तथा बेपत्ता भएका नागरिकका शव नारायणी नदी हुँदै पश्चिम नवलपरासीमा फेला परेपछि प्रदेश सरकारले शव व्यवस्थापन, पहिचान तथा सम्बन्धित परिवारसम्म पुर्‍याउने प्रक्रियालाई प्राथमिकतामा राखेको छ। अनुगमनमा मुख्यमन्त्री आचार्यसँगै स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुन, आन्तरिक मामिला तथा सञ्चार मन्त्री भण्डारीलाल अहिर लगायत प्रदेश सरकारका अधिकारीहरूको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?