© 2026
रोल्पा । रोल्पाको रुन्टीगढी गाउँपालिका–९ सखीस्थित भित्री सडकखण्डमा अटो दुर्घटना हुँदा सात जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । होलेरीबाट सखीतर्फ जाँदै गरेको लु.प्र.०२–००२ ह १२२६ नम्बरको पेट्रोलबाट चल्ने अटो सोमबार आफैँ अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
प्रहरीका अनुसार अटो ४० वर्षीय टेकबहादुर घर्तीले चलाएका थिए । घर्तीको सवारी चालक अनुमतिपत्र नभएको र मादक पदार्थ सेवन गरे नगरेको खुलिनसकेको प्रहरीले जनाएको छ । दुर्घटनापछि घाइतेहरूलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र होलेरी पठाइएको थियो । उपचारका क्रममा साँझ ६ बजे घाइतेमध्ये ६ जनालाई थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही, दाङ रेफर गरिएको प्रहरीले जनाएको छ ।दुर्घटनामा ६२ वर्षीया जयकुमारी जमाई घाइते भएकी छन् । उनको ढाड र छातीमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । त्यस्तै, ७३ वर्षीया गायत्री खत्रीको हात, ढाड र छातीमा चोट लागेको छ । उनको अवस्था पनि मध्यम रहेको छ ।
१२ वर्षीय आकाश विकको टाउको र छातीमा चोट लागेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । २८ वर्षीया सपना कार्कीको निधार र छातीमा चोट लागेको तथा उनको अवस्था मध्यम रहेको छ । सपनाकी ६ वर्षीया छोरी प्रकृति कार्कीको मुख र टाउकोमा चोट लागेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । सपनाकै एक वर्षीय छोराको नाम खुल्न सकेको छैन । उनको टाउको र छातीमा चोट लागेको तथा अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । त्यस्तै, २७ वर्षीया पुष्पा परियारको हात र खुट्टामा चोट लागेको छ ।
उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि इलाका प्रहरी कार्यालय होलेरीबाट प्रहरी नायब निरीक्षक बालाराम भण्डारीको कमान्डमा ट्राफिक प्रहरीसहित पाँच जनाको टोली घटनास्थलमा खटिएको थियो । घटनास्थल इलाका प्रहरी कार्यालय होलेरीबाट करिब आठ किलोमिटर पूर्व–उत्तरमा रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको अटो घटनास्थलमै रहेको छ भने चालक टेकबहादुर घर्तीलाई इलाका प्रहरी कार्यालय होलेरीको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिए ।