© 2026
ललितपुर । नेपाली काँग्रेसका सभापति गगन थापाले विपद् व्यवस्थापनमा रहेका कमीकमजोरी औँल्याउँदै सरकारलाई साथ दिएर विपद् व्यवस्थापनमा खटिन निर्देशन दिएका छन् ।
भोटेकोशी बाढीपछि उत्पन्न विपद् व्यवस्थापनमा काँग्रेसले गरिरहेको काम र अबको योजनाबारे छलफल गर्न आज बोलाइएको बैठकपछि उनले विपद्का समयमा तडकभडक र सामाजिक मर्यादा विपरीतका काम नगर्न निर्देशन दिए ।
“विपद् व्यवस्थापनका विषयमा सरकारका कमजोरीमा ध्यानाकर्षण गराउँछौँ, सरकारलाई बुझाएको नौ बुँदेका विषयमा सरकारले ध्यान दिनुपर्छ, सङ्घीय सरकारका निर्दिष्ट जिम्मेवारी समाधान हुनुपर्छ । विपद् व्यवस्थापनका कमीकमजोरीका विषयमा सरकारलाई प्रश्न गर्नुस्, तर असंवेदनशील नहुनुस्, जिम्मेवार र जबाफदेही हुनुस्”, उनले भने ।
तीन तहका सरकारबिच समन्वयमा मात्रै विपद् व्यवस्थापनमा सफलताले परिणाम हासिल गर्ने भन्दै उनले सङ्घीय सरकारले तीन तहका सरकारबिचको कार्यविभाजन गरेर काम गर्न सक्नुपर्ने बताए ।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्दम्बेले उद्धार, राहत र पुनः स्थापनामा सरकारले प्रभावकारी समन्वय र सहकार्यमा ध्यान दिएर नागरिकप्रतिको दायित्व पूरा गर्नुपर्नेमा जोड दिए ।
काँग्रेसका केन्द्रीय सदस्य जगदीश नरसिंह केसीले अहिले नुवाकोट र रसुवाको साझा पीडा भएको भन्दै सेना र प्रहरी सक्रिय भए पनि अन्य क्षेत्रबाट काम हुन नसकेको बताए ।
प्रतिनिधिसभामा काँग्रेसका प्रमुख सचेतक वासना थापाले विपद्ग्रस्त क्षेत्र रसुवा र नुवाकोटमा स्थलगत भ्रमण गर्दा महिला तथा बालबालिका समस्यामा परेको आफूले पाएको बताइन् ।