© 2026
काठमाडौँ । बाढी प्रभावित क्षेत्रमा सुरुङभित्र फसेका व्यक्तिको खोज तथा उद्धारका लागि भारतबाट नेपाल आएको विशिष्ट प्राविधिक टोलीले प्रभावित क्षेत्रको स्थलगत अनुगमन (रेकी) गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार उद्धारमा सहयोग गर्न नेपाल आएको भारतीय टोली त्रिशूली पुगेर प्रभावित क्षेत्रका सुरुङहरूको प्रारम्भिक अनुगमन गरेको हो।
टोलीले सुरुङको अवस्था, बाढीबाट भएको क्षति तथा उद्धारका लागि आवश्यक प्राविधिक पक्षबारे जानकारी संकलन गरेको छ। प्रारम्भिक रेकीबाट प्राप्त विवरणका आधारमा आवश्यकताअनुसार थप उद्धार कार्य अघि बढाइने जनाइएको छ। यसअघि भारतबाट ११ सदस्यीय मेडिकल तथा सुरुङ उद्धार टोली एक विमानमार्फत नेपाल आएको थियो। उक्त टोलीले प्रभावित क्षेत्रमा प्रारम्भिक अध्ययन गरेपछि दिएको सिफारिसका आधारमा आवश्यक उपकरणसहित थप विशिष्ट उद्धार टोली नेपाल आउने तयारी रहेको बताइएको छ।
बाढीपछि रसुवा तथा आसपासका जलविद्युत् आयोजनाका सुरुङमा मानिस फसेको आशंका रहेकाले खोज तथा उद्धारका लागि नेपाली सुरक्षा निकायसँगै भारत र चीनका विशेषज्ञ टोलीसमेत परिचालन भइरहेका छन्। सुरुङभित्र बाक्लो लेदो तथा भग्नावशेष भरिएका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको छ। भारतीय प्राविधिक टोलीको स्थलगत अनुगमनपछि आवश्यक उपकरण तथा प्रविधिको प्रयोगमार्फत उद्धारलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
यसैबीच भारतले नेपालमा जारी राहत तथा उद्धार अभियानमा मानवीय सहायता निरन्तर उपलब्ध गराउँदै आएको जनाएको छ। भारतले रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि हालसम्म ५७.५ मेट्रिक टन मानवीय सहायता नेपाली पक्षलाई हस्तान्तरण गरिसकेको जनाएको छ।