© 2026
कपिलवस्तु । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि देश विपद्को गम्भीर अवस्थाबाट गुज्रिरहेको बेला कपिलवस्तुको श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समूहले मानवीय सहयोग र सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको छ। वन उपभोक्ता समूहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख रुपैयाँ सहयोग गरेको छ। प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा सहयोगका लागि उक्त रकम प्रदान गरिएको समूहकी सचिव ,कमला सेन ,सुष्मा खाँणले जानकारी दिए।
विपद्को समयमा राहत तथा उद्धारका लागि सहयोग आवश्यक भइरहेका बेला समूहले आफ्नो पूर्वनिर्धारित तीज गीत प्रतियोगिता समेत स्थगित गरेको छ। हरितालिका तीजको अवसरमा आयोजना गर्ने तयारी गरिएको कार्यक्रम देशमा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै स्थगित गरिएको समूहले जनाएको छ। समूहका अनुसार विपद्को समयमा मनोरञ्जनात्मक कार्यक्रमभन्दा नागरिकको सुरक्षा, मानवीय सहयोग, शान्ति, सद्भाव र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिनुपर्ने भएकाले कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको हो।
कार्यक्रम स्थगित हुँदा सहभागी कलाकार, समूह तथा शुभेच्छुकमा पर्न गएको असुविधाप्रति समूहले क्षमायाचना गर्दै विपद्को सामना गर्न सबैको सहयोग र सहकार्य आवश्यक रहेको जनाएको छ। श्रृङ्गीघाट सामुदायिक वनले वन संरक्षणसँगै समुदायका सुख–दुःख, सामाजिक सरोकार तथा विपद्का समयमा मानवीय सहयोगलाई समेत निरन्तर प्राथमिकता दिँदै आएको सचिव खाँणले बताए।
अध्यक्ष गणेशबहादुर सिंह ठकुरी सुशीलको नेतृत्वमा रहेको समूहले यसअघि पनि समुदायसँग प्रत्यक्ष जोडिएका विभिन्न सामाजिक तथा मानवीय गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ। देशका विभिन्न क्षेत्रमा बाढी तथा प्राकृतिक विपद्बाट नागरिक प्रभावित भइरहेका बेला आर्थिक सहयोगसँगै पूर्वनिर्धारित कार्यक्रम स्थगित गर्ने श्रृङ्गीघाट सामुदायिक वनको निर्णयले सामाजिक उत्तरदायित्व र मानवीय संवेदनाको सकारात्मक सन्देश दिएको छ।