© 2026
देउखुरी । रसुवा लगायत अन्य जिल्लाहरुमा विपद्मा परेका नागरिकलाई राहत उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको ‘एक घर, कम्तीमा एक किलो चामल दान’ अभियानको पहिलो दिन १० वटा गाउँबाट ५७ क्विन्टल चामल संकलन भएको छ। थारु कल्याणकारिणी सभा, क्षेत्रीय समिति क्षेत्र नं. १. देउखुरीको संयोजन तथा प्रगन्ना कुलो सिँचाइ प्रणाली जल उपभोक्ता संस्था भानपुर, मझमेरिया प्रगन्ना मूल समिति र कालापानी प्रगन्ना मूल समितिको समन्वय तथा सहकार्यमा विपद्मा राहात संकलन अभियान सुरु गरिएको हो।
अभियानअन्तर्गत राप्ती गाउँपालिका–५ लठ्ठहवाबाट सबैभन्दा बढी १५ क्विन्टल चामल संकलन भएको छ। यस्तै, लमही नगरपालिका–२ बरवागाउँबाट ८ क्विन्टल, राप्ती–६ बगरापुर र राप्ती–७ भानपुरबाट ६ ६ क्विन्टल, राप्ती–७ छुट्की सिसहनियाबाट ५ क्विन्टल तथा राप्ती–६ सगरापुर र भगवानपुरबाट ४र४ क्विन्टल चामल संकलन भएको छ। त्यसैगरी राप्ती–६ मझिरियाबाट ३।५ क्विन्टल, लमही–२ केरुनियाबाट ३।५ क्विन्टल र लमही–२ छिङ्गतपुरबाट २ क्विन्टल चामल संकलन भएको थारु कल्याणकारिणी सभा, क्षेत्रीय समिति क्षेत्र नं. १ का सचिव यमबहादुर चौधरीले बताए ।
विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले सुरु गरिएको अभियानमा स्थानीयवासीले सहभागिता जनाएको आयोजकको भनाइ छ। आफ्नो घरबाट कम्तीमा एक किलो चामल सहयोग गर्ने नागरिक, युवा, समाजसेवी तथा सहयोगी हातहरूप्रति आयोजकले आभार व्यक्त गरेको छ। सानो सहयोगले पनि विपद्मा परेका परिवारका लागि ठूलो अर्थ राख्छ’ भन्ने भावनाका साथ अभियानलाई निरन्तरता दिइने चौधरीले बताए। अभियानको दोस्रो दिन भोलि पनि विभिन्न गाउँबस्तीमा राहत संकलन गरिने थारु कल्याणकारिणी सभाले जनाएको छ। सम्पूर्ण गाउँबस्ती तथा सहयोगी मन भएका नागरिकलाई अभियानमा सहभागी भई सहयोग गर्न अपिल गरिएको छ।