© 2026
केरुङ । उद्धार तथा राहत कार्यलाई तीव्रता दिन केरुङ आइपुगेका चिनियाँ प्रधानमन्त्री ली छियाङले आपतकालीन प्रतिकार्यमा सम्पूर्ण शक्ति लगाउन आह्वान गरेका छन्। उनले मानवीय जीवनलाई सबैभन्दा पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहतका काम अघि बढाउन निर्देशन दिएका छन्।
बाढीपछि चिनियाँ राष्ट्रपति सी चिनफिङको निर्देशनमा उच्चस्तरीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री ली छियाङ बिहीबार केरुङ पुगेका हुन्। सिगात्से विमानस्थल हुँदै केरुङ पुगेपछि उनले बाढीबाट भएको क्षतिको अनुगमन गर्नुका साथै उद्धारमा खटिएका सुरक्षाकर्मी तथा उद्धारकर्ताहरूसँग भेट गरेका थिए।
ली छियाङले आशा बाँकी रहेसम्म हराइरहेका व्यक्तिहरूको खोजीमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन्। उनले बाढीका कारण विस्थापित नागरिकलाई राखिएको शिविरको समेत भ्रमण गरी उनीहरूको अवस्था बुझेका थिए। त्यस्तै, उद्धार तथा राहत कार्यसँग सम्बन्धित सूचना पारदर्शी र प्रभावकारी रूपमा सम्प्रेषण गर्न समेत उनले सम्बन्धित निकायलाई आग्रह गरेका छन्। हालसम्म चीनतर्फ बाढी तथा पहिरोका कारण ५ जनाको मृत्यु भएको र ५५८ जना हराइरहेको जनाइएको छ।