Butwal Today

पूर्व वडा अध्यक्ष वेहनाद्वारा रसुवाका बाढीपीडितलाई सहयोग

१२ भाद्र २०८३, शुक्रबार
अ+
अ-

बाँके। नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ का पूर्व वडा अध्यक्ष सफिक वेहनाले रसुवाका बाढीपीडितलाई १ लाख ५१ हजार १ सय रुपैयाँ आर्थिक सहयोग गरेका छन् । गत १० गते रसुवामा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उनले उक्त रकम प्रदान गरेका हुन् ।

प्राकृतिक विपत्तिका कारण ठूलो समस्यामा परेका नागरिकलाई सहयोग गर्ने मानवीय दायित्वबोधका साथ आफूले आर्थिक सहयोग गरेको पूर्व वडा अध्यक्ष वेहनाले बताएका । उनका अनुसार विपद्का बेला पीडित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनु सबैको साझा जिम्मेवारी हो । रसुवामा आएको बाढीका कारण विभिन्न क्षेत्रमा जनधनको क्षति हुनुका साथै धेरै परिवार विस्थापित भएका छन्। बाढीले घर, कृषि उत्पादन तथा भौतिक संरचनामा समेत क्षति पु¥याएको बताइएको छ । प्रभावित परिवारलाई राहत, खाद्यान्न, लत्ताकपडा तथा अन्य आवश्यक सामग्रीको आवश्यकता रहेको अवस्थामा विभिन्न क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी रहेको छ ।

पूर्व वडा अध्यक्ष वेहनाले प्रदान गरेको १ लाख ५१ हजार १ सय रुपैयाँ बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि उपयोग हुने विश्वास गरिएको छ। उनले विपत्तिको समयमा राजनीतिक दल, सामाजिक संघसंस्था, व्यवसायी तथा सक्षम नागरिकहरूले समेत पीडितको सहयोगमा हातेमालो गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । “मानवता भन्दा ठूलो कुनै धर्म हुँदैन। प्राकृतिक विपत्तिमा परेका नागरिकलाई सहयोग गर्नु हामी सबैको कर्तव्य हो,” वेहनाको भनाइ उद्धृत गर्दै उनका निकटस्थहरूले बताएका छन्। स्थानीय स्तरमा सामाजिक तथा मानवीय कार्यमा सक्रिय रहँदै आएका वेहनाले यसअघि पनि विभिन्न सामाजिक अभियानमा सहयोग गर्दै आएका छन्। उनको यो सहयोगले रसुवाका बाढीपीडितलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ ।

विपत्तिको समयमा व्यक्तिगतरूपमा गरिएको यस्तो सहयोगले समाजमा सहयोग र सद्भावको सन्देश फैलाउने विश्वास गरिएको छ । बाढीपीडितको उद्धार, राहत वितरण र पुनःस्थापनाका कार्यमा सरकारी निकायसँगै निजी क्षेत्र तथा नागरिक समाजको सक्रिय सहभागिता आवश्यक रहेको जिल्ला प्रशासन कार्यालय बाँकेका जिल्ला अधिकारी दिल प्रकाश तामांगले आग्रह समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?