© 2026
काठमान्डौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा र नुवाकोटका तटीय क्षेत्रमा पुगेको क्षति तथा यसको असर मुग्लिन हुँदै चितवनसम्म पर्न सक्ने भन्दै बाढी पूर्वानुमान शाखाले जारी गरेको चेतावनीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले विज्ञप्ति जारी गर्दै त्रिशूली नदी र यससँग जोडिएका सम्पूर्ण तटीय क्षेत्र उच्च जोखिममा रहेकाले सम्भावित मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि सरकार, स्थानीय प्रशासन र आम नागरिकलाई विशेष सतर्कता अपनाउन आह्वान गरेका छन् ।
‘बाढी पूर्वानुमान शाखाको प्राविधिक सल्लाहलाई तत्काल कार्यान्वयन गर्दै विपद् व्यवस्थापनका सम्पूर्ण संयन्त्रलाई उच्च सतर्कताका साथ परिचालन गर्न हामी नेपाल सरकारको ध्यानाकर्षण गराउँछौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘जोखिमपूर्ण तटीय बस्तीका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यलाई राज्यले उच्च प्राथमिकतामा राख्नुपर्दछ ।’
विपद्को संवेदनशील अवस्थामा नदी किनार तथा जोखिमपूर्ण तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई संयमता अपनाउँदै तत्काल सुरक्षित तथा उच्च स्थानमा सर्न रास्वपाले अपिल गरेको छ ।
अवस्था सामान्य नभएसम्म अत्यावश्यक कामबाहेक नदी तटीय सडकमा यात्रा नगर्न पनि पार्टीले आग्रह गरेको छ ।
रास्वपाले कुनै पनि आपत्कालीन अवस्था सिर्जना भएमा तत्काल नेपाल प्रहरीको टोल फ्री नम्बर १०० तथा आपत्कालीन नम्बर १२३४ मा सम्पर्क गर्न आग्रह गरेको छ ।
साथै, जोखिममा परेका नागरिकको सुरक्षित उद्धार तथा पूर्वतयारीका कार्यमा स्थानीय प्रशासनसँग प्रभावकारी समन्वय गर्दै सेवामा सक्रिय रूपमा जुट्न पार्टीका सम्पूर्ण सदस्यलाई निर्देशन दिइएको छ ।