Butwal Today

रोजगारी तथा मानव संसाधन विकासलाई प्रदेशको गौरवको योजनाकै रूपमा अघि बढाउनुपर्छ : मन्त्री थारु

१० भाद्र २०८३, बुधबार
अ+
अ-

बुटवल । लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रजीत थारुले लुम्बिनी प्रदेशको वस्तुस्थितीको व्याख्य गर्दै प्रदेशमा गरिबी न्यूनीकरणलाई केन्द्रमा राखेर योजना तथा बजेट निर्माण गर्नुपर्ने बताएका छन्। मन्त्रालयमा आयोजित स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्दै मन्त्री थारुले आर्थिक सर्वेक्षणले औँल्याएका सूचक इन्डिकेटरलाई आधार बनाएर प्रदेश सरकारका कार्यक्रम अघि बढाउनुपर्ने बताए। अर्थ मन्त्रालयले सबै मन्त्रालयका योजना तथा कार्यक्रमको निगरानी गर्दै समग्र योजनालाई एउटै दिशामा केन्द्रित गर्नुपर्ने उनको भनाइ थियो।

प्रदेशमा गरिबीको अवस्था आर्थिक सर्वेक्षणले समेत संकेत गरेको भन्दै उनले गरिबी न्यूनीकरणलाई समग्र योजनामा समेटेर लक्षित कार्यक्रमका रूपमा अघि बढाउनुपर्ने बताए। “भौतिक पूर्वाधारको जति विकास भए पनि जनताले त्यसको अनुभूति गर्न सकेका छैनन्,” उनले भने, “अब जनतालाई प्रत्यक्ष छुने गरी योजना तथा कार्यक्रम अघि बढाउनुपर्छ।”

मन्त्री थारुले मानव संसाधनलाई प्राथमिकता दिँदै रोजगारी सिर्जना र गरिबी न्यूनीकरणमा केन्द्रित कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए। गरिबी निवारणका लागि अर्थ मन्त्रालयले नेतृत्वदायी भूमिका निर्वाह गर्दै निश्चित प्रतिशत बजेट छुट्याएर प्रदेशमा पाइलट प्रोजेक्टका रूपमा कार्यक्रम अघि बढाउने तयारी रहेको उनले बताए। लुम्बिनी प्रदेशका गौरवका चार योजना सहित मानव संसाधन विकास तथा रोजगारी सिर्जनालाई प्रदेशको गौरवको योजनाकै रूपमा पाईलटिङ कार्यक्रमको रुपमा अघि बढाउनुपर्ने बताए।

मन्त्री थारुले प्रदेशको राजस्व बाँडफाँटमा वृद्धि गर्न संघ सरकारसँग पहल आवश्यक रहेको बताए। संघीय अनुदानलाई योजनाबद्ध रूपमा खर्च गर्नुपर्ने भन्दै उनले प्रदेशको मुख्य जिम्मेवारी विकास भए पनि सेवा प्रवाहमा अझै प्रभावकारिता बढाउन आवश्यक रहेको बताए।आवधिक योजना प्रभावकारी, यथार्थपरक र प्रदेशको वस्तुस्थितिमा आधारित हुन नसकेको उल्लेख गर्दै मन्त्री थारुले लक्षित वर्ग र आवश्यकतामा आधारित योजना निर्माणमा जोड दिए। प्रदेशका सबै मन्त्रालयका योजना तथा कार्यक्रमलाई समन्वय गर्दै उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्नुपर्ने उनको भनाइ थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?