Butwal Today

एमालेमा पुनर्गठनको तयारी, असोजमा विधान महाधिवेशन

९ भाद्र २०८३, मंगलवार
अ+
अ-

काठमाडौँ । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले पार्टीलाई नयाँ ढंगबाट अघि बढाउन आगामी असोजमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बोलाउन सुझाव दिएको छ।

कार्यदलले पार्टी र सरकारको कामको गम्भीर समीक्षा गर्दै पुनर्गठनको कार्ययोजना कार्यान्वयनका लागि असोजमा प्रतिनिधि परिषद्को बैठक आयोजना गर्न प्रस्ताव गरेको हो। प्रतिवेदनको पृष्ठ ६५ मा बैठकलाई पार्टीको नीति, विधि र सांगठनिक सुधारसम्बन्धी महत्वपूर्ण निर्णय गर्ने थलोका रूपमा अघि बढाउन सुझाव दिइएको छ। कार्यदलका अनुसार प्रतिनिधि परिषद्को बैठक सम्पन्न भएलगत्तै त्यसलाई विधान महाधिवेशनमा रूपान्तरण गरी आवश्यक विधान संशोधन गर्नुपर्नेछ।

निर्वाचनमा पार्टीले बेहोरेको पराजयले एमालेको पार्टी जीवनमा गम्भीर धक्का पुगेको निष्कर्ष निकाल्दै कार्यदलले यथास्थितिमा पार्टी अघि बढ्न नसक्ने जनाएको छ। पार्टी पुनर्गठनको कार्ययोजना पारित गरी नयाँ योजना र संकल्पका साथ अघि बढ्नुपर्ने प्रतिवेदनमा उल्लेख छ। कार्यदलले पार्टीभित्र देखिएको गुटबन्दी, अनुशासनहीनता र स्वेच्छाचारी कार्यशैली अन्त्य गर्न विधानमै आवश्यक सुधार गर्नुपर्ने बताएको छ। त्यसका लागि विधान महाधिवेशनमार्फत पार्टीको आन्तरिक लोकतन्त्रलाई थप सुदृढ बनाउने प्रस्ताव गरिएको छ।

त्यस्तै, यसअघि हटाइएका उमेर हद र कार्यकालसम्बन्धी व्यवस्था पुनःस्थापित गर्नुपर्ने सुझाव पनि कार्यदलले दिएको छ। उक्त व्यवस्था पुनः लागू गर्दा नयाँ पुस्तालाई नेतृत्वमा आउने अवसर सिर्जना हुने कार्यदलको निष्कर्ष छ। निर्वाचनमा पराजय बेहोरे पनि एमालेले प्राप्त गरेको करिब १४ लाख मतलाई पार्टी पुनर्जागरणको महत्वपूर्ण आधार का रूपमा कार्यदलले लिएको छ। उक्त जनमतलाई संरक्षण गर्दै थप विस्तार गर्न पार्टीको वैचारिक, राजनीतिक र सांगठनिक पुनर्संरचना आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनको निष्कर्षमा मुलुकमा बढ्दै गएको लोकप्रियतावाद, अराजकता तथा वैदेशिक शक्तिको चलखेल रोक्न एमाले बलियो बन्नुपर्ने उल्लेख गरिएको छ। पुनर्गठित एमालेको नेतृत्वमा मुलुकलाई सही दिशामा अघि बढाउँदै जनताको बहुदलीय जनवाद ९जबज० को मार्गदर्शनमा समृद्ध नेपाल निर्माण गर्न सकिने दाबी पनि कार्यदलले गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?