Butwal Today

बालेन सरकार अधिनायकवाद तर्फ उन्मुख : प्रदीप ज्ञवाली

७ भाद्र २०८३, आइतबार
अ+
अ-

काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले बालेन नेतृत्वको सरकार ‘निर्वाचित अधिनायकवाद’तर्फ उन्मुख भएको आरोप लगाएका छन्। आइतबार राजधानीमा आयोजित ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तर्क्रियामा बोल्दै ज्ञवालीले सरकारको पछिल्लो पाँच महिनाको कार्यशैलीले लोकतान्त्रिक संरचना र संवैधानिक निकायलाई किनारा लगाउने संकेत देखाएको दाबी गरे।

उनले सरकार राष्ट्रपति, संसद् र न्यायालयको भूमिकालाई समेत बेवास्ता गर्दै स्वेच्छाचारी ढंगले अघि बढिरहेको आरोप लगाए।“यो सरकार निर्वाचित अधिनायकवादतर्फ उन्मुख छ। राष्ट्रपति संस्था, पार्लियामेन्ट र न्यायालयको कुनै महत्त्व छैन,” ज्ञवालीले भने। ज्ञवालीका अनुसार आफूलाई प्रधानमन्त्री बनाउने आफ्नै पार्टी, अन्य राजनीतिक दल तथा सञ्चारमाध्यमलाई समेत किनारा लगाउँदै सरकार अधिनायकवादी बाटोतर्फ अघि बढिरहेको छ।

सरकारले बलियो जनादेशको आडमा संविधानमा प्रतिगामी संशोधन गर्न सक्ने खतरा रहेको आशंका पनि ज्ञवालीले व्यक्त गरे। प्रतिनिधिसभाको वर्तमान शक्ति सन्तुलनलाई उल्लेख गर्दै उनले संसद्भित्रबाट सरकारको सम्भावित अधिनायकवादी प्रवृत्तिलाई रोक्ने बलियो विकल्प कमजोर रहेको दाबी गरे। राष्ट्रिय सभाले केही हदसम्म ‘चेक एन्ड ब्यालेन्स’को भूमिका खेल्न सक्ने भए पनि समग्र राजनीतिक परिस्थिति चुनौतीपूर्ण रहेको उनको भनाइ थियो।

ज्ञवालीले सरकारले सामाजिक सञ्जाल नियन्त्रणमार्फत आलोचक र असहमति राख्ने व्यक्तिमाथि दबाब सिर्जना गरिरहेको आरोपसमेत लगाए।सामाजिक सञ्जालमा सरकारप्रति असहमति जनाउनेहरूमाथि साइबर बुलिङ र चरित्रहत्या हुने वातावरण सिर्जना गरी समाजलाई त्रास, मौनता र ‘सेल्फ सेन्सरसिप’तर्फ धकेल्ने प्रयास भइरहेको उनको दाबी छ।

उनले समाजवादी आन्दोलनसँगै संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान, नागरिक स्वतन्त्रता, राष्ट्रियता, जनजीविका र सामाजिक सद्भावको रक्षाका लागि वामपन्थी शक्तिहरूबीच सहकार्य र एकता आवश्यक रहेको बताए। लोकतान्त्रिक उपलब्धिको संरक्षण र वर्तमान राजनीतिक चुनौतीको सामना गर्न कम्युनिस्ट तथा वामपन्थी शक्तिहरूबीच नयाँ सहकार्य र एकताको आवश्यकता रहेको ज्ञवालीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?