Butwal Today

राप्ती सोनारीमा प्राकृतिक विपद् खटिने आफ्नै उद्धार टोली

७ भाद्र २०८३, आइतबार
अ+
अ-

बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिकाले प्राकृतिक विपद् आएमा समुदायस्तरबाट खोज तथा उद्धारमा खटिन सक्ने स्थानीय जनशक्ति तयार गरेको छ । बाढी, डुबान, आगलागी, भूकम्पलगायत प्राकृतिक विपद् आइपरेमा बाहिरबाट उद्धार टोली पुग्न समय लाग्ने भएपछि स्थानीय जनशक्ति तयार गरिएको हो । बाहिरबाट उद्धार टोली आउन समय लाग्ने हुँदा घाइते तथा बेपत्ताको अवस्था बिग्रिन सक्ने जोखिम भएकाले आइपर्ने समस्यामा तत्काल घटनास्थल गई खटिनसक्ने गरी गाउँपालिकाका सबै वडाका लागि ४९ जना स्वयंसेवक तयार गरिएको राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्त पौडेलले बताए ।

“प्राकृतिक विपद् पर्नासाथ सुरक्षाकर्मी नपुग्दासम्म समुदायमा केकसो गर्ने भन्ने यसअघि अलमल हुने गर्दथ्यो, अब त्यस्तो अवस्था आउने छैन”, अध्यक्ष पौडेलले भने, “अहिले बाढीमा फसेकाको उद्धारदेखि आगलागी नियन्त्रण र घाइतेलाई प्राथमिक उपचार दिने सीपसहित विपद् व्यवस्थापन स्वयंसेवक तयार भएका छन् । सुरक्षाकर्मी नपुग्दासम्म उनीहरुले विपद् व्यवस्थापनको काम गर्न सक्षम छन् ।”

गाउँपालिकाले सशस्त्र प्रहरी बलको ४२ नम्बर रिजर्वगण शम्शेरगञ्जसँगको साझेदारी र समन्वयमा सञ्चालन गरेको १८ दिने तालिमपछि स्थानीय उद्धार टोली पालिकास्तरीय विपद् व्यवस्थापन स्वयंसेवकका रूपमा परिचालन भएका उनले जानकारी दिए । तालिममा विपद् व्यवस्थापनसम्बन्धी जानकारी सुन्ने र टिपोट गर्ने मात्र नभई सम्भावित जोखिम आइपरे ‘कसरी तत्काल घटनास्थलमा पुग्ने र उद्धार गर्ने’ भन्ने अभ्यास गराइएको सशस्त्र प्रहरी बलको ४२ नम्बर रिजर्वगण शम्शेरगञ्जका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक श्याम रावतले बताए ।

उनका अनुसार बाढीमा फसेका व्यक्तिलाई सुरक्षित स्थानमा निकाल्ने, घरमा लागेको आगो नियन्त्रण गर्ने, पानी प्रयोग गर्न नमिल्ने ठाउँमा आगो निभाउने तरिका तथा भूकम्पपछि भत्किएको संरचनाबाट घाइतेको उद्धार गर्नेलगायत अभ्यास स्वयंसेवकले तालिमका क्रममा सिकेका छन् ।“दुर्घटना वा विपद्मा घाइते व्यक्ति अस्पताल पुग्न नसकी जीवन गुमाउनसक्ने जोखिम हुन्छ । त्यस्तो अवस्थामा सानो उपचार पनि निर्णायक हुन सक्छ । त्यसैले तालिममा सिपीआर अर्थात् मुटु तथा श्वासप्रश्वास रोकिएको अवस्थामा गरिने जीवनरक्षक विधिको सैद्धान्तिक र व्यावहारिक अभ्यास गराइएको थियो”, उनले भने, “घटनास्थलमा पुगेपछि घाइतेको अवस्था पहिचान गर्ने, आफू सुरक्षित रहेर उद्धार गर्ने, घाइतेलाई प्राथमिक उपचार दिने र आवश्यक परे स्वास्थ्य संस्था वा थप उद्धार टोलीसम्म सुरक्षित रूपमा पुर्‍याउने विषयमा स्वयंसेवकलाई अभ्यास गराइएको छ ।”

राप्तीसोनारी गाउँपालिका(२ निवासी तालिम प्राप्त विपद् व्यवस्थापन स्वयंसेवक रती वलीले तालिम लिएपछि उद्धारसम्बन्धी सैद्धान्तिक र व्यावहारिक सीपका बारेमा जानकारी भएको बताए । उनले तालिम लिएपछि समुदायमा विपद् परेमा तत्काल उद्धार कार्यमा खटिएर सहयोग गर्न आफू तयार रहेको बताए । विपद् व्यवस्थापनसम्बन्धी कार्यरत संस्था सामाजिक विकास मञ्च बाँकेका स्रोत व्यक्ति घनश्याम उपाध्यायले विपद्को पहिलो प्रतिकार्यमा स्थानीय जनशक्तिको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै बाहिरबाट उद्धार टोली घटनास्थलमा पुग्नुअघि स्थानीय स्वयंसेवकले प्रारम्भिक उद्धार र प्राथमिक उपचार गर्न सके क्षति हुने बताए ।

“विपद्का बेला तत्काल परिचालन हुन सक्ने दक्ष जनशक्ति स्थानीयस्तरमै तयार गर्नु तालिमको उद्देश्य हो”, उपाध्यायले भन्नुभयो, “व्याहारिक सीप भएका स्वयंसेवक परिचालनबाट राप्तीसोनारीमा समुदायको विपद् सामना गर्ने क्षमता बलियो भएको छ ।” राप्तीसोनारी गाउँपालिका(३ का वडाध्यक्ष मिनकुमार चौधरीले विपद् व्यवस्थापनमा बाह्य उद्धार टोलीको भर पर्नुभन्दा पहिले स्थानीय समुदायलाई नै प्रतिकार्यका लागि तयार पार्ने कार्य प्रभावकारी भएको बताए । “बाहिरबाट उद्धार टोली आइपुग्नुअघि स्थानीयस्तरमै प्रारम्भिक उद्धार र प्राथमिक उपचार गर्न सक्ने जनशक्ति तयार पार्न तालिम दिएका छौँ”, उनले भने, “सबै वडाबाट स्वयंसेवक सहभागी गराएर तालिम दिइएकाले विपद्का बेला पालिकाको प्रतिकार्य प्रणालीलाई थप प्रभावकारी बनाउन सहयोग पुग्नेछ ।”

राप्तीसोनारी गाउँपालिकामा बाढी, पहिरो र सडक अवरोधदेखि आगलागी, सर्पदंश तथा भूकम्पसम्मका जोखिम आउने गर्दछ । विपद्का बेला सडक अवरुद्ध हुँदा उद्धार टोली तत्काल घटनास्थल पुग्न नसक्ने अवस्था पनि आउन सक्छ । त्यस्तो अवस्थामा घटनास्थल नजिकै रहेका प्रशिक्षित स्वयंसेवक नै पहिलो सहारा बन्न सक्ने वडाध्यक्ष चौधरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?