Butwal Today

क्रियाशील पत्रकार महिलाको अध्यक्षमा कल्पना तिवारी, पाण्डेलाई संघर्षशील पत्रकार महिला सम्मान

७ भाद्र २०८३, आइतबार
अ+
अ-

बुटवल। क्रियाशील पत्रकार महिला डब्लुडब्लुजे रुपन्देहीको १६औँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशन आइतबार बुटवलमा सम्पन्न भएको छ। अधिवेशनले कल्पना तिवारीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा हरिकला अधिकारी, सचिवमा बिन्दु भट्टराई, कोषाध्यक्षमा सावित्रा अर्याल, सहसचिवमा कमला अर्याल तथा सदस्यमा कल्पना शर्मा, सृजना भट्टराई, मनीषा नेपाली र लक्ष्मी पाण्डे चयन भएका छन्।

भगवती पाण्डेलाई संघर्षशील पत्रकार महिला सम्मान

साधारण सभा तथा अधिवेशनको अवसरमा संस्थाले २०६९ सालमा स्थापना गरेको ‘संघर्षशील पत्रकार महिला सम्मान’ २०८३ बाट संस्थाकी संस्थापक अध्यक्ष तथा लुम्बिनी प्रदेश उपाध्यक्ष भगवती पाण्डेलाई सम्मान गरिएको छ। प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले पाण्डेलाई नगद १५ हजार रुपैयाँसहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन्। पाण्डे सेतोपाटी अनलाइन र लुम्बिनी टेलिभिजनमा कार्यरत छन्। यसअघि उक्त सम्मानबाट पत्रकार कमला कुँवर, इन्दिरा अर्याल, माया गौतम, दुर्गा पौडेल र इन्दिरा खनाल सम्मानित भइसकेका छन्।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख खेलराज पाण्डेले क्रियाशील पत्रकार महिला संस्थाले आफ्नो नामअनुसार प्रभावकारी काम गर्नुपर्ने बताए। संस्था स्थापना गर्नु ठूलो कुरा नभई त्यसलाई निरन्तरता दिनु महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले पत्रकारिता क्षेत्रमा देखिएका संकट समाधानका लागि पनि संस्थाले पहल गर्नुपर्ने बताए। आगामी दिनमा बुटवल उपमहानगरपालिकाले संस्थागत सहकार्य र सहयोग गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेल, लुम्बिनी प्रदेश उपाध्यक्ष रामप्रसाद आचार्य, रुपन्देही अध्यक्ष दिनेश पाण्डे, सम्मानित व्यक्तित्व एवं संस्थाकी संस्थापक अध्यक्ष भगवती पाण्डे, सञ्चारिका समूह लुम्बिनीकी अध्यक्ष अमृता अनमोल, नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपाललगायतले संस्थाले आफ्नो उद्देश्यअनुसार काम गर्दै संख्यात्मकभन्दा गुणात्मक परिणाममा जोड दिनुपर्ने बताए।

संस्थाकी अध्यक्ष कल्पना तिवारीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै महिला पत्रकारहरूको क्षमता तथा नेतृत्व विकास, नीतिगत पैरवी र समाचार लेखनमा संस्थाले विशेष जोड दिने बताइन्। संस्थाका कोषाध्यक्ष एवं कार्यक्रम संयोजक हरिकला अधिकारीको स्वागत तथा सचिव बिन्दु भट्टराईको सञ्चालनमा सम्पन्न कार्यक्रममा पत्रकारसम्बद्ध संस्थाका अध्यक्ष तथा प्रतिनिधि, सामाजिक संस्थाका अध्यक्ष तथा प्रतिनिधि र रुपन्देहीमा क्रियाशील पत्रकारहरूको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?