© 2026
काठमाडौँ । जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको भैँसेपाटीस्थित मन्त्रीनिवासको पुनर्निर्माण तथा मर्मतसम्भारमा करिब ४२ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। तीन चरणमा काम अघि बढाइए पनि पुनर्निर्माण सम्पन्न हुने समय भने अझै निश्चित भएको छैन।
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका अनुसार क्षतिग्रस्त विभिन्न ब्लकको पुनर्निर्माण तथा मर्मतका लागि चरणबद्ध रूपमा ठेक्का प्रक्रिया अघि बढाइएको हो।पहिलो चरणको कामका लागि ८ करोड ६० लाख रुपैयाँ, दोस्रो चरणका लागि १५ करोड ४९ लाख रुपैयाँ र तेस्रो चरणअन्तर्गत इन्टेरियर तथा भित्री संरचना निर्माणका लागि १७ करोड ८९ लाख रुपैयाँ लागत अनुमान गरिएको छ। तीनवटै चरणको लागत जोड्दा कुल अनुमानित खर्च ४१ करोड ९८ लाख रुपैयाँ पुग्छ।
पुनर्निर्माण तीन चरणमा अघि बढे पनि विशेषगरी इन्टेरियरको काममा ढिलाइ भएको कार्यालयले जनाएको छ। बाहिरबाट कामदार तथा आवश्यक निर्माण सामग्री ल्याउनुपर्ने भएकाले काम अपेक्षाअनुसार अघि बढ्न नसकेको बताइएको छ। मन्त्रीनिवासको पुनर्निर्माण तथा मर्मतसम्भार जारी रहेकाले मन्त्रीहरू हाल भैँसेपाटीस्थित नयाँ मन्त्रीनिवासमा बस्न पाएका छैनन्। उनीहरू अहिले पुल्चोकस्थित पुरानो मन्त्री क्वार्टरमा बसोबास गर्दै आएका छन्।
जेन–जी आन्दोलनका क्रममा भएको क्षतिपछि सुरु गरिएको पुनर्निर्माणमा झन्डै ४२ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको भए पनि काम सम्पन्न हुने निश्चित मिति नतोकिँदा परियोजनाको प्रगतिमाथि प्रश्न उठ्न थालेको छ।