Butwal Today

कतारमा नेपाली महिला भलिबलको ऐतिहासिक जित, बन्यो च्याम्पियन 

६ भाद्र २०८३, शनिबार
अ+
अ-

दोहा, कतार । कतारमा श्रमिक सहयोग तथा बिमा कोषको आयोजनामा सञ्चालित महिला च्याम्पियनसिप कप–२०२६ को उपाधि नेपाली महिला भलिबल टोलीले जितेको छ।

शुक्रबार सम्पन्न फाइनलमा नेपाली टोलीले फिलिपिन्स ‘बी’लाई लगातार तीन सेटमा पराजित गर्दै उपाधि जितेको हो। कोसेली मगरको कप्तानीमा मैदान उत्रिएको नेपालले २५–२३, २५–२१ र २५–१० को सोझो सेटमा फिलिपिन्सलाई हराएको थियो ।

उपाधिसँगै नेपाली टोलीले कप, मेडल र ५ हजार कतारी रियाल पुरस्कार प्राप्त गरेको छ। प्रतियोगितामा नेपाली खेलाडीको व्यक्तिगत प्रदर्शनसमेत उत्कृष्ट रह्यो। कप्तान कोसेली मगरले प्रतियोगिताको उत्कृष्ट खेलाडी (एमभीपी)को पुरस्कार प्राप्त गर्दा पुष्पा शाही उत्कृष्ट स्पाइकर घोषित भइन्। नेपाली टोलीले उत्कृष्ट युनिफर्मको पुरस्कारसहित थप २ हजार कतारी रियाल प्राप्त गरेको छ।

फाइनलअघि नेपालले सेमिफाइनलमा फिलिपिन्स ‘ए’लाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो। अर्को सेमिफाइनलमा फिलिपिन्स ‘बी’ले ट्युनिसियालाई हराएको थियो।

कतारमा नेपाली महिला भलिबल टोलीको औपचारिक उपस्थिति करिब शून्यबाट सुरु भएको थियो। एनआरएनए एनसीसी कतारको खेलकुद विभागले जुलाईको दोस्रो साताबाट खेलाडी खोजी गरी टोली निर्माण गरेको थियो। खेलाडीको खोजी, अभ्यास, जर्सी, मैदान तथा अन्य व्यवस्थापनमा एनआरएनए कतारसहित कतारमा रहेका नेपाली व्यवसायी, समाजसेवी र शुभेच्छुकहरूले सहयोग गरेका थिए।

छोटो समयमै तयार गरिएको टोलीले मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेपछि कतारमा रहेका नेपाली समुदायमा खुसी छाएको छ। फाइनल खेल हेर्न नेपाली समर्थक मैदान पुगेका थिए। उपाधि जितेपछि खेलाडीहरूले नेपाली राष्ट्रिय झण्डा फहराउँदै कप उचालेका थिए।

शून्यबाट सुरु भएको नेपाली महिला भलिबल टोलीको यो सफलता विदेशमा रहेका नेपाली खेलाडीलाई अवसर र साथ मिले अन्तर्राष्ट्रियस्तरमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने उदाहरण बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?