Butwal Today

‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक’

४ भाद्र २०८३, बिहीबार
अ+
अ-

कर्णाली । कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीको विकास र समृद्धिका लागि सबैको साझा प्रतिबद्धता आवश्यक रहेको बताएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सुर्खेतले आज वीरेन्द्रनगरमा आयोजना गरेको  ‘प्रदेश स्थापना तथा सहिद दिवस २०८३ को मूल समारोह’ मा उनले सबैको साझा सोच र प्रयासबाट मात्र कर्णालीको समृद्धि सम्भव हुने बताए । कर्णालीको उन्नतिका लागि प्रदेश सरकारले सुशासन, जबाफदेहिता र पारदर्शितामा ध्यान दिनुपर्ने उनको सुझाव थियो ।

प्रमुख जोशीले भ्रष्टाचाररहित र शून्य सहनशीलताको प्रदेश निर्माणका लागि सरकारले आफ्नो क्षमता देखाउनुपर्ने बताए । कर्णालीको विकास, समृद्धि र उन्नतिका लागि सबै राजनीतिक दल जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो ।

मनसुनजन्य विपद्को जोखिम अझै कायमै रहेको भन्दै उनले सर्वपक्षीय संयन्त्र बनाएर जाजरकोटका पीडितको घरदैलोमा पुगेर सरकार भएको अनुभूति दिलाउनुपर्नेमा जोड दिए । प्रचुर सम्भावना भएको कर्णालीलाई गरिबीको आँखाबाट हेर्नु ठुलो कमजोरी भएको बताउँदै उनले दैलेखको ग्यासबाट मुलुककै समृद्धि र विकासमा सहयोग पुग्ने दीर्घकालीन महत्त्वको आयोजना दुई वर्षदेखि बन्द हुनु दुःखद भएको टिप्पणी गरे ।

कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले कर्णालीका जनताको त्याग, समर्पण र बलिदानबाट स्थापित प्रदेशको विकासले सिङ्गो मुलुकको रूपान्तरणमा सहयोग पुग्ने बताए । कर्णाली प्रदेश स्थापनाका क्रममा जीवन उत्सर्ग गर्ने सहिदप्रति सम्मान अर्पण गर्दै उनले मुलुक सङ्घीयतामा जाँदै गर्दा कर्णालीले आफ्नै बलबर्कतमा पहिचान र अस्तित्व कायम गरेको बताए ।

सभामुख नन्दा गुरुङले नेपालको संविधान, सङ्घीयता र समावेशिताले कर्णालीजस्ता उत्पीडित तथा उपेक्षित भूगोल र क्षेत्रलाई न्याय गरेको बताइन् । कर्णालीका जनताले जीवन बलिदान दिएर जन्माएको प्रदेशको विकास र नागरिकको जीवनस्तर उन्नतिका लागि सङ्घ सरकारले विशेष भूमिका खेल्नुपर्ने उनको भनाइ थियो ।

निवर्तमान मुख्यमन्त्री यामलाल कँडेलले मुलुकको सबैभन्दा ठुलो भूगोल ओगटेको कर्णालीको विकास र समृद्धिबिना देशको समृद्धि सम्भव नभएको बताए । कर्णालीको विकासका लागि प्रदेश सरकार, राजनीतिक दल, सरोकारवाला निकाय तथा सङ्घ सरकारबिच समन्वय र सहकार्य आवश्यक रहेको बताउँदै उनले प्रदेशका स्रोतसाधनको भरपुर उपयोग गर्ने सामर्थ्य सरकारले राख्नुपर्ने बताए ।

समारोहमा सामाजिक विकास मन्त्री जीतबहादुर मल्लले स्वागत गर्दै सहिदले देखाएको मार्ग पछ्याएर सरकार अघि बढ्ने बताए । कार्यक्रममा आर्थिक मामिला मन्त्री टेकराज पछाई, जलस्रोत मन्त्री कलबहादुर हमाल, प्रदेशसभा सदस्य, न्यायाधीश, प्रदेश सरकारका प्रमुख सचिव, सुरक्षा निकायका प्रमुख, सहिद परिवार, कर्मचारी, पत्रकार, सञ्चारकर्मी तथा कलाकर्मीको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?