© 2026
चन्द्रौटा। कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंहको मृत्युको कारण पोस्टमार्टम रिपोर्टबाट पनि खुल्न सकेको छैन् । प्रहरीका अनुसार रिपोर्ट अनुसार सिंहको मृत्यु शव फेला पर्नुभन्दा करिब ३६ घण्टा अगाडि नै भएको देखिएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहका अनुसार सिंहको शरीरमा बाहिरी चोटपटक देखिएको छैन । तर मृत्यु स्वाभाविक हो वा हत्या भन्नेबारे अहिलेसम्म निष्कर्षमा पुग्न सकेको छैन् । मृत्युको कारण यकिन गर्न भिसेरा परीक्षणको रिपोर्ट आवश्यक पर्ने छ ।
पूर्व मेयर किरण गत साउन २२ गते दिउँसो करिब २ बजे ढेकरीमा व्यावसायिक फर्म सञ्चालनको तयारीका लागि घरबाट निस्किएका थिए । त्यसपछि उनी सम्पर्कविहीन भएका थिए । सोही दिन साँझ करिब साढे ७ बजे उनले प्रयोग गर्ने लु.प्र.०१३ प ७९७० नम्बरको एभेन्जर मोटरसाइकल फेला परेको थियो । सम्पर्कविहीन भएको दिन दिउँसो ३ बजेर २९ मिनेटदेखि ५ बजेर ५३ मिनेटसम्म सिंहले विभिन्न व्यक्तिसँग मोबाइलमा कुराकानी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
बुटवल टुडे सगँको संवादमा उपरीक्षक सिंहले उनले आफू बाटो बिराएको र बचाउन आउन आग्रह गरेको पाइएको बताए । तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गरी खोजी गर्दा पनि तत्काल सिंह फेला परेनन् । साउन २४ गते गोरुसिंगे जंगलको झाडीमा उनको शव फेला परेको थियो । शवसँगै मोबाइल, हेलमेट, पर्स र मोटरसाइकलको चाबीसमेत भेटिएको थियो । स्वास्थ्य अवस्था कमजोर हुनुका साथै हिँड्नसमेत कठिनाइ हुने पूर्व मेयर सिंह जंगलको झाडीभित्र कसरी पुगे भन्ने विषय अनुसन्धानको महत्वपूर्ण पाटो बनेको छ ।
घटनाको प्रकृति र घटनास्थलको अवस्थाले पनि मृत्युबारे विभिन्न प्रश्न खडा गरेको छ । प्रहरीले घटनालाई विभिन्न कोणबाट अनुसन्धान गरिरहेको जनाएको छ । घटनासँग सम्बन्धित व्यक्तिहरूसँग सोधपुछ, मोबाइलको परीक्षण तथा अन्य प्रमाणको विश्लेषण भइरहेको उपरीक्षक सिंहले बताए । भिसेरा रिपोर्ट आएपछि मृत्युको कारणबारे थप तथ्य खुल्ने प्रहरीको भनाइ छ । हालसम्मको अनुसन्धानले मृत्युको कारण स्पष्ट गर्न नसकेकाले पूर्वमेयर सिंहको मृत्यु रहस्यकै बिषय बनेको छ ।