Butwal Today

रोल्पामा पाँचदिने निःशुल्क अर्थोपेडिक शल्यक्रिया शिविर हुँदै

३ भाद्र २०८३, बुधबार
अ+
अ-

रोल्पा । 

रोल्पा अस्पताल, रेउघामा हाड जोर्नी तथा नशासम्बन्धी समस्या भएका बिरामीलाई लक्षित गरी पाँच दिने निःशुल्क अर्थोपेडिक ओ.पि.डि. तथा शल्यक्रिया शिविर सञ्चालन हुने भएको छ । नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, काठमाडौँ, रोटरी क्लब अफ काठमाडौँ वेस्ट, रोल्पा नगरपालिका र रोल्पा अस्पतालको संयुक्त आयोजनामा आगामी असोज १२ देखि १६ गतेसम्म विशेषज्ञ चिकित्सकसहितको सेवा सञ्चालन गर्न लागिएको हो ।

शिविरमा हाड जोर्नीसम्बन्धी सामान्य तथा जटिल समस्या भएका बिरामीको परीक्षण, विशेषज्ञ परामर्श तथा आवश्यकताअनुसार निःशुल्क शल्यक्रिया सेवा उपलब्ध गराइने आयोजकले जनाएको छ । जन्मजात खुट्टाको पैताला फर्किएका, हातखुट्टा बाङ्गिएका, पुरानो चोटका कारण विकृति भएका, भाँचिएर बाङ्गिएर जोडिएका तथा पहिले राखिएका पाता वा किला निकाल्नुपर्ने बिरामीले समेत सेवा लिन सक्नेछन् । हातखुट्टाका गाँठागुँठी तथा आगोले पोलेर भएका विकृतिको पनि परीक्षण तथा उपचार गरिनेछ ।

शिविरलाई व्यवस्थित बनाउन अस्पताल विकास समिति, स्थानीय तह, प्रशासन, सुरक्षा निकाय, रेडक्रस, सञ्चार क्षेत्र तथा स्वास्थ्य संस्थाका प्रतिनिधिबिच बैठक बसेर आवश्यक तयारी र जिम्मेवारी बाँडफाँड गरिएको छ । दुर्गम तथा ग्रामीण क्षेत्रबाट आउने बिरामीलाई सहज सेवा उपलब्ध गराउने, अग्रिम नामर्दता तथा स्वास्थ्य परीक्षण गर्ने र शल्यक्रियाका लागि उपयुक्त बिरामी छनोट गर्ने व्यवस्था मिलाइने बताइएको छ ।

नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीका डा। प्रकाश ज्ञवालीका अनुसार आर्थिक अभाव, भौगोलिक दूरी तथा विशेषज्ञ स्वास्थ्य सेवामा सीमित पहुँचका कारण उपचारबाट वञ्चित बिरामीलाई लक्षित गरी शिविर आयोजना गरिएको हो । वरिष्ठ हाड जोर्नी विशेषज्ञ चिकित्सकबाट सेवा प्रदान गरिने उनले बताए ।

शिविरमा ओ।पि।डि। तथा नामर्दता बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ । परीक्षणपछि शल्यक्रिया आवश्यक देखिएका बिरामीलाई चिकित्सकीय मापदण्डका आधारमा छनोट गरी शल्यक्रिया सेवा उपलब्ध गराइनेछ । सेवा लिन चाहने बिरामीले रोल्पा अस्पताल, रेउघामा समयमै सम्पर्क गरी अग्रिम नामर्दता गराउनुपर्ने आयोजकले जनाएको छ ।

विगतमा उपचार गराएका बिरामीले पुराना स्वास्थ्यसम्बन्धी कागजात, एक्स(रे तथा अन्य रिपोर्ट भएमा साथमा ल्याउन अनुरोध गरिएको छ ।

रोल्पा अस्पतालका अस्पताल विकास समितिका अध्यक्ष शेरबहादुर थापाले दुर्गम जिल्लाका नागरिकलाई जिल्लामै विशेषज्ञ चिकित्सकबाट सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गर्न लागिएको बताए । शिविर सफल बनाउन सम्बन्धित सबै निकायबिच आवश्यक समन्वय भइरहेको उनले जानकारी दिए ।

रोल्पा नगरपालिकाका नगरप्रमुख सुरेन्द्र थापा, उपप्रमुख गीता आचार्य, जिल्ला समन्वय समिति रोल्पाका प्रमुख सीता आचार्य तथा प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीलगायतले शिविरबाट आर्थिक तथा भौगोलिक कारणले विशेषज्ञ सेवा लिन नसकेका नागरिक लाभान्वित हुने बताएका छन् । उनीहरूले शिविरको सूचना ग्रामीण तथा दुर्गम क्षेत्रसम्म पु¥याउन र आवश्यक सुरक्षा तथा व्यवस्थापनमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।

आयोजकका अनुसार पुराना तथा जटिल हाड जोर्नीसम्बन्धी समस्या भएका बिरामीलाई प्राथमिकताका साथ परीक्षण गरिनेछ । शिविरबाट आर्थिक रूपमा विपन्न तथा विशेषज्ञ उपचारको पहुँचबाट टाढा रहेका नागरिकले प्रत्यक्ष लाभ लिन सक्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?