© 2026
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक लम्बिँदा प्रभावित भएको प्रतिनिधिसभाको बैठक दुई घण्टा ढिलो गरी सुरु भएको छ । दिउँसो १ बजेका लागि आह्वान गरिएको बैठक ३ बजेपछि मात्रै सुरु भएको हो ।
रास्वपा सभापति रवि लामिछानेले संसदीय दलको बैठकमा पार्टीका सांसद र मन्त्रीहरूलाई एकै ठाउँमा राखेर संसदीय मर्यादा र शैलीका विषयमा छलफल गरेका थिए ।
बैठकमा रास्वपा संसदीय दलका नेता तथा प्रधानमन्त्री बालेन शाह भने सहभागी भएनन् ।
आजको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दसौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
त्यस्तै, युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
रास्वपा संसदीय दलले केही दिनअघि नै सांसदहरूलाई संसद् बैठकमा समयमै उपस्थित हुन निर्देशन दिएको थियो । तर बुधबार रास्वपा कै संसदीय दलको बैठक लम्बिएपछि प्रतिनिधिसभाको बैठक प्रभावित भएको हो ।