© 2026
सल्यान । सल्यानको एक सामुदायिक विद्यालयका विद्यार्थीले आफ्नै विद्यालय प्राङ्गणमा मौलिक कला र संस्कृतिबारे प्रत्यक्ष हेर्ने र जान्ने अवसर प्राप्त गरेका छन् । जिल्लाको कपुरकोट गाउँपालिका, ३ स्थित कालिका माध्यमिक विद्यालयमा कपुरकोट लाखे नाच समूहले प्रत्यक्ष लाखे नाच प्रदर्शन गरेपछि विद्यार्थीले पाठ्यपुस्तकमा पढेको विषयलाई व्यवहारमै बुझ्ने अवसर पाएका हुन् । बाजागाजाको तालसहित प्रस्तुत गरिएको उक्त नाच हेर्न विद्यार्थी, शिक्षक र स्थानीय अभिभावकको उपस्थिति थियो । सो अवसरमा लाखे नाच देखाउँदै समुहले बिद्यालयमा अक्षयकोष स्थापनाका लागि रकम समेत हस्तान्तरण गरेको छ ।
स्थानीय पाठ्यक्रममा कला र संस्कृतिसम्बन्धी विषय समेटिएकाले सैद्धान्तिक ज्ञानलाई व्यावहारिक रूप दिन विद्यालयमै प्रदर्शनको व्यवस्था मिलाइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मधुसुधन गिरीले बताए । किताबमा पढाउनु भन्दा आफ्नै आँखा अगाडि देख्न पाउँदा विद्यार्थीले संस्कृतिको पृष्ठभूमि र महत्त्व सजिलै बुझ्न सक्छन्, गिरीले भने, यसले नयाँ पुस्तालाई आफ्नो मौलिक पहिचानसँग जोड्न ठूलो मद्दत पुर्याउँछ ।
कपुरकोटमा लाखे नाच सांस्कृतिक पहिचानसँग जोडिएको पुरानो परम्परा हो । स्थानीय अगुवाहरूका अनुसार विक्रम संवत् १९९४ देखि यहाँ निरन्तर लाखे नाच सञ्चालन हुँदै आएको छ । हरेक वर्ष नागपञ्चमीका दिन सुरु हुने यो नाच श्रीकृष्ण जन्माष्टमीको पर्सिपल्ट लाखे ‘मार्ने’ अर्थात औपचारिक विसर्जन गर्ने परम्परा छ । आधुनिक जीवनशैली र प्रविधिको प्रभावले नयाँ पुस्ता मौलिक कलाबाट टाढिँदै गएका बेला विद्यालयस्तरमै यस्ता कार्यक्रम सुरु गरिएको हो ।
पुस्तौँदेखि चलिआएको परम्परा जोगाउँदै आएको कपुरकोट लाखे नाच समूहले संस्कृतिका साथै सामाजिक कार्यमा पनि योगदान दिँदै आएको छ । कालिका माध्यमिक विद्यालयमा समुहले अक्षयकोष स्थापनाका लागि ५१ हजार १ सय ५१ को रकम हस्तान्तरण गरेको बिद्यालयले जनाएको छ । सो अवसरमा लाखे समूहका अगुवा एवं कपुरकोट, ३ का वडाध्यक्ष प्रदीप खड्काले भने, हामीले लाखे नाचलाई प्रदर्शनमा मात्र सीमित नराखी सामाजिक कामसँग पनि जोड्दै आएका छौँ । यस अघि सार्वजनिक प्रतीक्षालय र मठमन्दिर निर्माणमा सहयोग गरेका थियौँ, यसपटक विद्यालयका विपन्न विद्यार्थीको पठनपाठनका लागि यसप्रकारको सहयोगले केही टेवा पुर्याउने अपेक्षा छ ।
विद्यालय प्रशासनका अनुसार उक्त अक्षयकोषबाट प्राप्त हुने ब्याजबाट बर्सेनि विद्यालयका विपन्न तथा जेहेन्दार विद्यार्थीलाई पठनपाठनमा छात्रवृत्ति उपलब्ध गराइनेछ । बढ्दो प्रविधि र आधुनिक जीवनशैलीका कारण मौलिक कला र संस्कृतिबाट नयाँ पुस्ता टाढिँदै गएका बेला विद्यालयस्तरमै यस्ता कार्यक्रम आयोजना गरिनु सकारात्मक भएको स्थानीयको भनाइ छ ।