Butwal Today

ईसीडी सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिकमा मासिक ५ हजार वृद्धि

३ भाद्र २०८३, बुधबार
अ+
अ-

काठमाडौँ। सरकारले प्रारम्भिक बालविकास ईसीडी सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीको पारिश्रमिकमा मासिक ५ हजार रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले संघीय अनुदानअन्तर्गत कार्यरत कर्मचारी तथा शिक्षकको पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

नयाँ व्यवस्थाअनुसार ईसीडी सहजकर्ताको पारिश्रमिक १२ हजारबाट बढेर १७ हजार, विद्यालय सहयोगीको १० हजारबाट १५ हजार तथा लेखा हेर्ने विद्यालय कर्मचारीको १५ हजारबाट २० हजार रुपैयाँ पुगेको छ। त्यस्तै, शिक्षण सहयोग अनुदानमा कार्यरत माध्यमिक तहका शिक्षकको मासिक पारिश्रमिक ४३ हजार ६६९ बाट बढेर ४८ हजार ५८ रुपैयाँ र आधारभूत तहका शिक्षकको ३४ हजार ७३० बाट बढेर ३८ हजार २०३ रुपैयाँ कायम गरिएको छ।

मन्त्रालयका अनुसार पारिश्रमिक वृद्धि कार्यान्वयन गर्दा सरकारमाथि वार्षिक ४ अर्ब ६८ करोड ९८ लाख २८ हजार १०० रुपैयाँ थप दायित्व सिर्जना हुनेछ। मन्त्रिपरिषद्ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक कन्ट्रोल सुधार परियोजनाका लागि जापानबाट प्राप्त हुने करिब २ अर्ब ७३ करोड रुपैयाँ अनुदान स्वीकार गर्ने निर्णय पनि गरेको छ।

त्यस्तै, नेपालमा एसियन डिजास्टर प्रिपेयर्डनेस सेन्टरको सब–सेन्टर स्थापना गर्न स्वीकृति, संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुने नेपाली प्रतिनिधिमण्डललाई स्वीकृति तथा नेपाल–साउदी अरब द्विपक्षीय हवाई सेवा सम्झौता गर्न स्वीकृति दिने निर्णय भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?