© 2026
काठमाडौँ । नेपाली र नेपाल भाषाका अग्रणी स्रष्टा, जनकवि दुर्गालाल श्रेष्ठको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । बुढानिलकण्ठस्थित निवासमा ९३ वर्षको उमेरमा आइतबार राति निधन हुनुभएका श्रेष्ठको आज साँझ शोभाभगवतीमा अन्त्येष्टि गरिएको हो । श्रेष्ठको अन्त्येष्टिमा गृहमन्त्री सुधन गुरुङ, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोललगायत विशिष्ट व्यक्तिले अन्तिम श्रद्धाञ्जली अर्पण गरे ।
उनको पार्थिव शरीरलाई शोभाभगवतीबाट ढल्को, क्षेत्रपाटी, थहिटी, बाङ्गेमुढा, असन, जनबहाल, किलागल, नरदेवी हुँदै पुनः क्षेत्रपाटी, जोगीपाखा भएर शोभाभगवती लगिएको थियो । सो क्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्ति, साहित्यकार, कलाकार, संस्कृतिकर्मी, शुभेच्छुक तथा सर्वसाधारणले उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । श्रेष्ठको निधनसँगै नेपाली साहित्यले एउटा कविमात्र नभई नेपाल र नेपाली भाषाबीच साहित्यिक सेतु निर्माण गर्ने एउटा सशक्त स्रष्टालाई गुमाएको छ । उनले करिब सात दशकदेखि कविता, गीत, बालसाहित्य, नाटक तथा नेपाल भाषाको प्रवर्द्धनमा योगदान पुर्याउँदै आएका थिए। मदन पुरस्कार गुठीले उनलाई नेपाल भाषा र नेपाली भाषामा सुमधुर गीत, कविता, काव्य तथा बालसाहित्य सिर्जना गर्दै नेपाली वाङ्मयमा योगदान पुर्याएकामा ‘जगदम्बा(श्री’बाट सम्मान गरेको थियो ।
विसं १९९२ मा काठमाडौँको न्हैकन्तला टोलमा जन्मीएका श्रेष्ठको प्रारम्भिक शिक्षा पद्मोदय माध्यमिक विद्यालयबाट भएको थियो । किशोर अवस्थादेखि साहित्यमा आकर्षित श्रेष्ठले विसं २००६ देखि लेखन सुरु गरेका थिए । उनको पहिलो कविता ‘दुई थोपा’ विसं २००९ मा ‘सुस्केरा’ पत्रिकामा प्रकाशित भएको थियो ।यसैबीच, सङ्गीतकार न्ह्यूँ बज्राचार्यले जनकवि श्रेष्ठको निधन नेपाली साहित्य तथा गीतसङ्गीत क्षेत्रका लागि अपूरणीय क्षति भएको बताएका छिन । उनका अनुसार श्रेष्ठका सिर्जनाले नेपाली गीतसङ्गीतलाई समृद्ध बनाउन महत्त्वपूर्ण भूमिका खेलेका छन् । श्रेष्ठका शब्दमा रहेका सरलता, गहिराइ र मानवीय संवेदनाले पुस्तौँपुस्तासम्म प्रभाव पार्ने क्षमता राख्ने उनले बताए । श्रेष्ठ ‘सयौँ थरी बाजा एउटै ताल’, ‘फूलको आँखामा फूलै संसार’ लगायत कालजयी तथा चर्चित गीतका सर्जक हुन ।