Butwal Today

भारत–आर्मेनिया रक्षा सहकार्यमा समझदारी

२ भाद्र २०८३, मंगलवार
अ+
अ-

येरेवान । भारत र आर्मेनियाले रक्षा उद्योगमा अनुसन्धान, विकास, नवप्रवर्तन तथा संयुक्त उत्पादनलाई अघि बढाउन समझदारी पत्र (एमओयु) मा हस्ताक्षर गरेका छन् ।

दुई देशबिच रक्षा औद्योगिक सहकार्य विस्तार गर्ने उद्देश्यसहित भएको यो समझदारीले रक्षा क्षेत्रमा प्रविधि तथा उत्पादनसम्बन्धी सहकार्यलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।

भारतीय रक्षा सचिव राजेश कुमार सिंहले सोमबार येरेवानमा आर्मेनियाका उच्च प्रविधि उद्योगमन्त्री डेभिट तादेवोस्यानसँग भेटवार्ता गरी पारस्परिक हितका क्षेत्रमा द्विपक्षीय रक्षा औद्योगिक सहयोग विस्तार गर्ने प्रतिबद्धता दोहोर्‍याएका थिए ।

सोही क्रममा रक्षा उद्योगमा अनुसन्धान, विकास, नवप्रवर्तन र संयुक्त उत्पादनमा सहकार्य गर्न एमओयुमा हस्ताक्षर गरिएको भारतीय रक्षा मन्त्रालयले जनाएको छ ।

यसअघि रक्षा सचिव सिंहले आर्मेनियाका रक्षामन्त्री सुरेन पापिक्यानसँग भेटवार्ता गरी दुई देशबिचको रक्षा साझेदारीलाई थप गहिरो बनाउने विषयमा छलफल गरेका थिए । दुवै पक्षले द्विपक्षीय रक्षा सहयोग सुदृढ गर्ने नयाँ सम्भावना खोज्दै भारत–आर्मेनिया रक्षा सम्बन्धलाई थप विस्तार गर्ने साझा प्रतिबद्धता दोहोर्‍याएको मन्त्रालयले जनाएको छ ।

बैठकमा आर्मेनियाका लागि भारतीय राजदूत नीलाक्षी साहा सिन्हा पनि सहभागी थिइन् । रक्षा सचिव सिंहले आर्मेनियाका चिफ अफ जनरल स्टाफ लेफ्टिनेन्ट जनरल एडवर्ड अस्र्यानसँग पनि भेटवार्ता गरेका थिए ।

सो भेटवार्तामा दुई पक्षले रक्षा औद्योगिक सहकार्य र रक्षा अनुसन्धान तथा विकासमा थप ध्यान केन्द्रित गर्दै भारत–आर्मेनिया रक्षा साझेदारीलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको मन्त्रालयले जनाएको छ ।

रक्षा सचिव सिंह दुई दिने भ्रमणका क्रममा आइतबार आर्मेनियाको राजधानी येरेवान पुगेका थिए । उनलाई आर्मेनियाली रक्षा मन्त्रालयका वरिष्ठ अधिकारी तथा भारतीय राजदूत सिन्हाले स्वागत गरेका थिए ।

पछिल्लो भ्रमणलाई यसै वर्षको सुरुमा नयाँ दिल्लीमा भएको आर्मेनियाली उच्चस्तरीय सैन्य प्रतिनिधिमण्डलको भ्रमणपछि दुई देशबिच रक्षा क्षेत्रमा बढेको द्विपक्षीय संलग्नताको निरन्तरताका रूपमा हेरिएको छ ।

गत अप्रिलमा आर्मेनियाका सशस्त्र बलका जनरल स्टाफ प्रमुख लेफ्टिनेन्ट जनरल एडवर्ड अस्र्यानले नयाँ दिल्लीमा रक्षा सचिव सिंहसँग द्विपक्षीय रक्षा सहयोगका विषयमा छलफल गरेका थिए । त्यस क्रममा उनले भारतीय वायु सेनाका प्रमुख एयर चिफ मार्शल एपी सिंहसँग पनि भेटवार्ता गरेका थिए ।

नयाँ समझदारीसँगै भारत र आर्मेनियाबीच रक्षा क्षेत्रमा अनुसन्धान तथा विकास, प्रविधि, नवप्रवर्तन र संयुक्त उत्पादनका सम्भावना विस्तार हुने अपेक्षा गरिएको छ । दुई देशले पारस्परिक हितका क्षेत्रमा रक्षा औद्योगिक सहकार्यलाई थप सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?