© 2026
काठमाडौं । देशका ठूला नदीहरूको बहाव अहिले नियन्त्रणमै रहे पनि ३० जिल्लाका साना नदी तथा खोलामा आकस्मिक बाढीको मध्यम जोखिम देखिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले पहाडी तथा हिमाली क्षेत्रका साना नदीमा पानीको सतह अचानक बढ्न सक्ने भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।
महाकाली, कोशी, नारायणी, बागमती र कर्णालीलगायत प्रमुख नदीमा बहाव हाल सतर्कता तहभन्दा तल रहे पनि ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेलगायत जिल्लाका साना नदीमा बहाव बढ्न सक्ने अनुमान गरिएको छ। त्यस्तै रुकुम पूर्व–पश्चिम, जाजरकोट, डोल्पा, जुम्ला, सुर्खेत, दैलेख, दाङ, बाँके, बर्दिया, दार्चुला, बैतडी, बझाङ, डोटी, डडेल्धुरा, कैलाली र कञ्चनपुर आसपासका खोलानालामा पनि आकस्मिक बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार भदौ ३ र ४ गते गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही साना नदी तथा खोलामा बहाव अचानक बढ्न सक्छ।नदी तथा खोला किनारमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन, जोखिमपूर्ण स्थानमा नजान तथा बाढीको संकेत देखिए तत्काल सुरक्षित स्थानमा जान महाशाखाले आग्रह गरेको छ।