© 2026
बुटवल । जनता समाजवादी पार्टी जसपा नेपाल लुम्बिनी प्रदेश संसदीय दलले प्रदेशसभा सदस्य अम्बिका काफ्लेसँग स्पष्टीकरण मागेको छ। जसपा लुम्बिनी प्रदेश संसदीय दलको कार्यालयले भदौ २ गते काफ्लेलाई पत्र पठाउँदै मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत लिने क्रममा दलको निर्णय र ह्वीपविपरीत काम गरेको भन्दै तीन दिनभित्र लिखित स्पष्टीकरण दिन निर्देशन दिएको हो।
पत्रमा काफ्लेलाई तीन प्रश्न सोधिएको छ। आफू जसपा नेपाल लुम्बिनी प्रदेशसभा संसदीय दलको सदस्य भए नभएको, राजनीतिक दलसम्बन्धी ऐन २०७३ बमोजिम दलले जारी गरेको निर्देशन पालना किन नगरेको र दलको निर्देशन पालना गर्नु आफ्नो दायित्व भए नभएकोबारे जवाफ मागिएको छ। यसअघि जसपा नेपालले मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदा विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई निर्देशन दिएको थियो।
तर विश्वासको मतको मतदानमा जसपाका चार सांसदले मुख्यमन्त्रीको पक्षमा मतदान गरेका थिए। आचार्यले ४५ मतसहित विश्वासको मत प्राप्त गरेका थिए। यद्यपि, प्रदेशसभा सचिवालयको विवरणअनुसार अम्बिका काफ्ले भने उक्त मतदानमा अनुपस्थित थिइन्। स्पष्टीकरणपछि पार्टीले काफ्लेमाथि थप कारबाही गर्ने वा नगर्नेबारे निर्णय गर्नेछ।