Butwal Today

छत्रदेवले नवनिर्मित भवनबाट औपचारिक सेवा प्रवाह सुरु

१ भाद्र २०८३, सोमबार
अ+
अ-

अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले नवनिर्मित प्रशासकीय भवनबाट औपचारिक रूपमा सेवा प्रवाह सुरु गरेको छ। आधुनिक तथा व्यवस्थित भवन निर्माण सम्पन्न भएपछि गाउँपालिकाले नयाँ भवनबाट नियमित प्रशासनिक कामकाज सञ्चालनमा ल्याएको हो। गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले एक समारोहबीच नवनिर्मित प्रशासकीय भवनको विधिवत् समुद्घाटन गर्दै नयाँ भवनबाट सेवा प्रवाहको शुभारम्भ गरे। आफ्नै प्रशासकीय भवनबाट सेवा सुरु भएसँगै छत्रदेवको स्थानीय शासन प्रणाली थप व्यवस्थित र नागरिकमैत्री बन्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले नयाँ प्रशासकीय भवन गाउँपालिकाको संस्थागत विकाससँगै नागरिकलाई प्रभावकारी सेवा प्रवाह गर्ने महत्वपूर्ण पूर्वाधार भएको बताए । उनले भवन निर्माण हुनु मात्रै उपलब्धि नभएको उल्लेख गर्दै त्यस भवनबाट नागरिकले छिटो, सरल, पारदर्शी र गुणस्तरीय सेवा पाउनु नै वास्तविक उपलब्धि भएको बताए । यसअघि पर्याप्त भौतिक पूर्वाधारको अभावमा सेवा प्रवाहमा देखिने समस्या तथा असहजता कम हुने र सेवाग्राहीले पनि सहज वातावरणमा सेवा लिन पाउने गाउँपालिकाको विश्वास छ।

गाउँपालिका उपाध्यक्ष मनि पन्थीले नयाँ भवनले प्रशासनिक कामलाई थप प्रभावकारी र व्यवस्थित बनाउन सहयोग पुग्ने बताइन् । प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालले नयाँ भवनबाट सेवा प्रवाह सुरु भएसँगै कार्यालयका प्रशासनिक गतिविधिलाई थप चुस्त, व्यवस्थित र सेवामुखी बनाउने प्रतिबद्धता व्यक्त गरे। सेवाग्राहीलाई अनावश्यक झन्झट नदिई प्रचलित कानुनअनुसार छिटो र प्रभावकारी सेवा उपलब्ध गराउन कर्मचारी जिम्मेवार भएर काम गर्नुपर्ने उनको भनाइ थियो।

भवन उद्घाटन समारोहमा वडा नम्बर १ देखि ८ सम्मका वडा अध्यक्ष, गाउँसभा तथा कार्यपालिका सदस्य, स्थानीय राजनीतिक दलका प्रतिनिधि, भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने जग्गादाता, कर्मचारी, पत्रकार, समाजसेवी तथा स्थानीय नागरिकको सहभागिता थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?