© 2026
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आफ्नै वरिपरिका नेताहरूले पटक–पटक भ्रममा पारेको टिप्पणी गरेका छन्। केन्द्रीय समिति बैठक समापनका क्रममा थापाले देउवाको नाममा ‘सभापति’को नेमप्लेट राखिएकोप्रति असन्तुष्टि जनाउँदै भने, “आफ्नाले डुबाए दाइ, फेरि डुबाउँछन्।”थापाले आगामी १५औँ महाधिवेशनमा देउवालाई पूर्वसभापतिको हैसियतमा सम्मानपूर्वक अतिथिका रूपमा बोलाएर उनका कुरा, शुभेच्छा र मार्गदर्शन लिन चाहेको बताए।
कांग्रेसभित्रको विवाद र गुटगत झगडाबाट आफूहरू बाहिर निस्कन चाहेको भन्दै उनले त्यसका लागि देउवाको सहयोग आवश्यक रहेको बताए। साथै, आफ्ना कमजोरी वा अप्ठ्याराहरू लुकाउन देउवालाई ‘ढाल’ बनाउने प्रयासमा सहभागी नहुन पनि आग्रह गरे। भदौ २३ र २४ का घटनाबारे न्यायिक छानबिन हुनुपर्ने धारणा राख्दै थापाले युवामा देखिएको आक्रोश र नागरिकको असन्तुष्टिलाई केवल प्रायोजित भन्दै खारेज गर्न नहुने बताए। कांग्रेसले नागरिकको सन्देश बुझेर आफ्नो शासनशैली र कार्यशैली परिवर्तन गर्नुपर्ने उनको भनाइ थियो।