© 2026
काठमान्डौँ ।
नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीको आगामी आर्थिक मार्गचित्र स्पष्ट पार्दै ‘प्रजातान्त्रिक समाजवाद’को जगमा मुलुकको आर्थिक रूपान्तरण गर्नुपर्ने बताएका छन् ।
इतर समूहको तीनदिने राष्ट्रिय भेलाको अन्तिम दिन आफूले प्रस्तुत गरेको अर्थसम्बन्धी प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँदै डा. महतले यस्तो बताएका हुन् ।
उनले भेलामा सहभागी नेताहरूले दिएका सुझाव र सल्लाहलाई दस्ताबेजमा समेट्ने बताए । “भेलामा साथीहरूले राख्नुभएको महत्त्वपूर्ण सुझाव र सल्लाहलाई हामीले दस्ताबेजमा समेट्नेछौँ । यसले पार्टीलाई जनताको समस्यासँग प्रत्यक्ष जोड्न मद्दत पुग्नेछ,” उनले भने ।
सम्बोधनका क्रममा डा. महतले किसानका समस्यालाई कांग्रेसले मुख्य एजेण्डा बनाउनुपर्ने बताए । किसानले समयमा मल नपाउने, उत्पादनको उचित मूल्य नपाउने र प्रविधिको अभाव झेल्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने उनको भनाइ थियो ।
“हाम्रो आर्थिक नीतिले अब कृषिमा आधुनिकीकरण र उत्पादकत्व वृद्धिमा ठोस काम गर्नेछ,” उनले भने ।
नेपालको विविधतालाई आर्थिक वृद्धिको आधार बनाउनुपर्नेमा जोड दिँदै डा. महतले धार्मिक तथा सांस्कृतिक सम्पदालाई पर्यटनसँग जोडेर आर्थिक लाभ लिनुपर्ने बताए । “हाम्रो देश धार्मिक र सांस्कृतिक रूपमा धनी छ । हिन्दू, बौद्ध, किराँत र विभिन्न जातजातिको पहिचानलाई पर्यटनसँग जोडेर आर्थिक लाभ लिनुपर्छ । यसबारे हाम्रो कार्यपत्रले स्पष्ट दृष्टिकोण राखेको छ,” उनले भने ।
संविधानमा रहेका कतिपय विरोधाभासका बाबजुद कांग्रेसले आफ्नो मौलिक सिद्धान्त ‘प्रजातान्त्रिक समाजवाद’लाई नछाड्ने डा. महतले स्पष्ट पारे । उनले गरिबी निवारण, गुणस्तरीय शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षालाई राज्यको प्राथमिक दायित्वका रूपमा स्थापित गर्ने प्रतिबद्धता समेत जनाए ।