© 2026
बुडापेस्ट । हङ्गेरीमा आइतबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य यात्रु घाइते भएका छन् । प्रहरीले बस चालक निदाएका कारण दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ ।
पोल्यान्डको नम्बर प्लेट भएको उक्त बस हङ्गेरीको एम–३ राजमार्गमा पूर्वतर्फ गइरहेको थियो । स्थानीय समयअनुसार बिहान करिब १ बजे मेजोकरेसतेस सहरनजिकै बस सडकबाट तल खसेर खाल्डोमा पल्टिएको प्रहरीले जनाएको छ । उक्त स्थान राजधानी बुडापेस्टबाट करिब १४० किलोमिटर पूर्वमा पर्छ ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा चालक निदाएका कारण बस अनियन्त्रित भएको हुन सक्ने देखिएको छ । चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
पोल्यान्डका विदेशमन्त्री रादोस्लाव सिकोस्र्कीले सामाजिक सञ्जाल ‘एक्स’मार्फत हङ्गेरीमा पोल्यान्डका पर्यटक सवार बस दुर्घटनामा परेको जानकारी दिएका छन् । उनले आफ्नो मन्त्रालय हङ्गेरीका अधिकारीहरूसँग सम्पर्कमा रहेको बताएका छन् ।
पोल्यान्डका राष्ट्रपति कारोले नाभ्रोस्कीले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवार तथा आफन्तप्रति समवेदना प्रकट गरेका छन् ।
हङ्गेरीका प्रधानमन्त्री पेतर म्याग्यारले सामाजिक सञ्जालमार्फत दुर्घटनामा कम्तीमा १० जना गम्भीर घाइते भएको बताएका छन् । उनले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घटनास्थलमा खटिएका उद्धारकर्मीलाई धन्यवाद दिएका छन् ।