Butwal Today

प्युठान सेवा समाज कतारको नयाँ नेतृत्व,अध्यक्षमा खड्का सर्वसम्मत

३० श्रावण २०८३, शनिबार
अ+
अ-

दोहा (कतार) ।

कतारमा स्थापित सामाजिक संस्था प्युठान सेवा समाज कतारले समुन्द्र खड्काको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै  “नवौँ अधिवेशन २०२६” सम्पन्न गरेको छ । शुक्रवार दोहास्थित प्लाजा मल स्थित जिम्बु थकालीको रेस्टुरेन्टको सभा हलमा नवौँ अधिवेशनले प्युठान जिल्ला झिम्रुक गाउँपालिका वडा न २ निवासी खड्काको अध्यक्षतामा २० कार्यसमिति चयन गर्दै आगामी कार्यकालका लागी नयाँ नेतृत्व चयन गरेको हो ।

वरिष्ठ उपाध्यक्षमा विशाल जिसी, दित्तिय उपाध्यक्षमा रबीलाल सुनार, तृतीय उपाध्यक्षमा रमेश केसी महासचिवमा भोज पुन,सचिवमा साकुर जस्मिन ,कोषाध्यक्षमा, हरि खत्री, सह कोषाध्यक्षमा भोजराज जिसी निर्वाचित भएका छन् ।

त्यस्तै कार्यसमिति सदस्यहरूमा अम्मर बहादुर केसी, बल बहादुर कुवर, लेख बहादुर कुवर, भरत कार्की, अर्जुन खडका, हरि कुवर, लक्ष्मण मगर, नाजिर मिया, रमेश जिसी, देवीराम भण्डारी, शङ्कर केसी र पार्वता केसी रहेका छन् । त्यस्तै सदस्यमा एक पद रिक्त रहेको छ । नयाँ कार्यसमितिले पहिलो बैठकमा मनोनीत गर्ने जनाएको छ । निर्वाचन समितिका संयोजक लीला जिसीले नवनिर्वाचित पदाधिकारीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

अधिवेशनको अवसरमा कतारमा स्थापित विभिन्न सामाजिक सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूले समाजले कतारसँगै आफ्नो गृह जिल्लामा समेत विभिन्न सामाजिक तथा मानवीय कार्य गर्दै आएको भन्दै प्रशंसा गरे । उनीहरूले समाजले आगामी दिनमा पनि सामाजिक क्षेत्रमा थप प्रभावकारी काम गर्दै जाने विश्वास व्यक्त गरे । यस्तै, कार्यक्रममा कतारबाट क्रोएसिया, पोल्यान्डलगायत युरोप तथा अन्य मुलुकमा रोजगारीका लागि जाने प्रक्रियामा कतारमा रहेका केही कन्सल्टेन्सीबाट हुने भनिएको ठगीका विषयमा समेत चर्चा गरिएको थियो।  वक्ताहरूले वैदेशिक रोजगारीका नाममा हुने सम्भावित ठगीबाट सचेत रहनुपर्ने र सम्बन्धित निकायले त्यस्ता गतिविधिको प्रभावकारी निगरानी गर्नुपर्नेमा जोड दिएका थिए ।

कतारमा रहेका स्थानीय कलाकारको साङ्गीतिक प्रस्तुतिले कार्यक्रमलाई मनोरञ्जन तथा आकर्षक बनाएको थियो। समाजका कमल आचार्यले प्युठान जिल्ला धार्मिक तथा ऐतिहासिक दृष्टिले निकै महत्त्वपूर्ण रहेको बताए । उनले प्युठान धार्मिक, सामाजिक तथा सांस्कृतिक हिसाबले समेत समृद्ध जिल्ला भएको उल्लेख गर्दै जिल्लाको धार्मिक तथा ऐतिहासिक पहिचानलाई थप प्रचार,प्रसार गर्नुपर्नेमा जोड दिए । आचार्यले प्युठानका धार्मिक तथा ऐतिहासिक स्थलहरूको अवलोकनका लागि एक पटक जिल्लाको भ्रमण गर्न सबैलाई आग्रह समेत गरे । उनले प्युठान भ्रमणले जिल्लाको धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधतालाई नजिकबाट बुझ्न सहयोग पुग्ने बताए ।

समाजका प्रमुख संरक्षक बलदेव रानाले प्रवासमा परेका अप्ठ्याराहरूमा संस्था र समाज नै सबैभन्दा ठुलो सहारा हुने बताए । कार्यक्रमलाई सम्बोधन गर्दै उनले कतारमा रहेका प्युठानीहरुलाई  समाजमा जोडिन  आग्रह गरे । ​कतार प्रवेश गरेको झन्डै २६ वर्ष पुगेको स्मरण गराउँदै रानाले आफ्नो लामो अनुभव साटेका थिए ।

उनले आफू कतार आउँदाको समय र अहिलेको परिवेशमा ठुलो भिन्नता आइसकेको उल्लेख गर्दै दुःख९सुखमा साथ दिनका लागि सामाजिक संस्थाहरूको आवश्यकता झनै बढेको धारणा राखे ।

अधिवेशनको अवसरमा कलाकार तथा पत्रकारहरूलाई नगद सहित सम्मान गरिएको थियो । समाजका अध्यक्ष सिताराम सुनारले अधिवेशनलाई सम्बोधन गर्दै आफ्नो दुई बर्से कार्यकाललाई सफलतापूर्वक सम्पन्न गर्न साथ सहयोग पुर्‍याउने सबैमा धन्यवाद व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?