Butwal Today

संसदीय समितिमा मर्यादित भाषा प्रयोग गर्न रुलिङ

२९ श्रावण २०८३, शुक्रबार
अ+
अ-

काठमान्डौँ ।

संसदीय समितिको बैठकमा मर्यादित भाषा प्रयोग गर्न प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समिति सभापति समीक्षा बास्कोटाले रुलिङ गरेकी छन् ।

समितिको बैठकमा बोल्दै सभापति बास्कोटाले समितिमा आमन्त्रित व्यक्ति विभिन्न संगठन, मन्त्रालय तथा सरकारी निकायका प्रमुखसमेत हुने भएकाले सदस्यहरूले बोल्दा भाषा, शब्द चयन र व्यवहारमा संवेदनशील हुनुपर्ने बताइन् ।

‘समितिमा हामीले आमन्त्रण गर्ने व्यक्तिहरू कुनै न कुनै संगठनका प्रमुख, कुनै न कुनै मन्त्रालयदेखि लिएर निकायका प्रमुख भएर काम गरिरहनुभएको अवस्था छ । यहाँ बोलिने भाषा, प्रयोग गरिने शब्द र व्यवहार आम नागरिकले पनि हेरिरहनुभएको हुन्छ,’ उनले भनिन्, ‘त्यसैले समितिमा बोल्दा विषयान्तर नगरी प्रयोग गरिने भाषामा समेत सचेत र संवेदनशील भएर विषय उठान गरिदिनुहुन माननीय सदस्यहरू तथा आमन्त्रित सम्पूर्ण व्यक्तित्वहरूमा हार्दिक अनुरोध गर्न चाहन्छु ।’

पछिल्लो समय कतिपय सांसदहरूले समितिमा आमन्त्रित व्यक्तिहरूमाथि तिखो टिप्पणी गर्ने क्रम बढेपछि सभापति बास्कोटाले मर्यादित भाषा प्रयोग गर्न आग्रह गरेकी हुन् ।

आजको बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन, २०८३ माथि छलफल तथा सुझाव संकलन गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै, बाल सुधार गृहमा रहेका बालबालिकाको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिले समितिमा पेस गरेको प्रतिवेदन, २०८३ पारित गर्ने कार्यसूचीसमेत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?