© 2026
नारायणगढ (चितवन) । भरतपुरको बस्ती वरपर बच्चासहितको चितुवा घुम्न थालेपछि स्थानीय वासीमा त्रास फैलिएको छ । निकुञ्जभित्र बाघ धेरै हुने भएकाले उनीहरूले आफ्नै छुट्टै क्षेत्र बनाउन नसकेर मानव बस्तीमा प्रवेश गर्ने गर्छन् ।
राष्ट्रिय प्रकृति संरक्षण कोष वन्यजन्तु प्राविधिक तीर्थ लामाले बस्तीमा देखिएको चितुवा बच्चासँग भएकाले बच्चालाई बाघबाट जोगाउन र सुरक्षित राख्न बस्तीतिर छिरेको हुनसक्ने बताए ।
पोथी चितुवाले आफ्ना बच्चालाई बाघबाट मात्र नभई भाले चितुवाबाट जोगाउनुपर्ने हुन्छ । भाले चितुवाले अरूको वा आफ्नै बच्चा भेटेमा मारिदिने खतरा रहन्छ । नियन्त्रणमा लिइएको एउटा चितुवा नौ महिना जतिको हो । अर्को माउ र बच्चा हुनसक्ने वन्यजन्तु प्राविधिक लामाले बताए ।
चितुवा दुईदेखि तीन वर्षमा वयस्क हुन्छ । बच्चालाई एकदेखि दुई वर्षभित्रमा माउले छाड्ने र उनीहरू आफ्नो छुट्टै क्षेत्र बनाएर बस्ने गर्छन् ।
बच्चा हुर्काएपछि चितुवा एउटै स्थानमा बस्दैनन् । चितुवाको सरदर आयु १० वर्षको हुन्छ । चितुवा आफैँ लडेर मर्ने गरेका छन् । डिभिजन वन कार्यालय, चितवनका सूचना अधिकारी देवीप्रसाद पौडेलले चितुवा नियन्त्रणका लागि दिउँसोमा ड्रोन, सिसी क्यामेरा जडान, खोर (केज) ट्रयापिङ र खुट्टा ट्रयापिङ (लेग ट्रयाप) प्रयोग गरिएको जानकारी दिए ।
यसै क्रममा एउटा बच्चालाई अविनाश पोल्ट्री फार्मको झाडीबाट नियन्त्रणमा लिएलगत्तै राष्ट्रिय प्रकृति संरक्षण कोषको जिम्मेवारीमा सुम्पिएको छ । माउ चितुवा भने अर्को बच्चासहित बस्तीमै घुमिरहेको बताइन्छ । राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु प्राविधिक तीर्थ लामाले चितुवा रुख चढ्ने भएकाले समाउन गाह्रो पर्ने बताए ।
उक्त जङ्गली जनावर प्रायः गाउँघर तथा बस्ती वरपरका सामुदायिक वनमा बस्दै कुकुरलगायत जनावरको सिकार गर्ने गर्छ । बस्तीमा पसेको चितुवालाई नियन्त्रणमा लिन र बस्तीलाई सुरक्षित दिलाउन सबै प्रयास जारी राखिएको डिभिजन वन कार्यालयले जनाएको छ ।