© 2026
काठमाडौं । शिक्षक तथा विद्यालय कर्मचारीका माग सम्बोधनमा सरकार गम्भीर नभएको भन्दै नेपाल शिक्षक महासंघले भदौ पहिलो साताभित्र आन्दोलनको नयाँ कार्यतालिका सार्वजनिक गर्ने भएको छ। महासंघका अनुसार पहिलो चरणमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेललाई मागपत्रसहित ध्यानाकर्षण पत्र बुझाइनेछ। त्यसपछि देशभर प्रचारात्मक तथा शान्तिपूर्ण दबाबमूलक कार्यक्रम सञ्चालन गरिनेछ।
सरकारले माग सम्बोधनमा चासो नदेखाए दोस्रो चरणमा काठमाडौं केन्द्रित सडक आन्दोलन र आवश्यकताअनुसार विद्यालय बन्दसम्मका कार्यक्रम अघि बढाउने चेतावनी महासंघले दिएको छ। महासंघकी सहअध्यक्ष नानीमैया पराजुलीले सरकारको प्रतिक्रियाका आधारमा आन्दोलनको स्वरूप तय हुने बताइन्। उनका अनुसार सरकारले माग सम्बोधन गर्दै गए आन्दोलनका कार्यक्रम पनि सोहीअनुसार परिमार्जन गरिनेछ।
महासंघले विगतका सहमति कार्यान्वयन, शिक्षा नियमावलीको १०औँ संशोधनमा रहेका अव्यावहारिक व्यवस्था सच्याउनुपर्ने, शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने, राहत तथा करार शिक्षकको स्थायित्व सुनिश्चित गर्नुपर्ने लगायतका माग अघि सारेको छ। त्यस्तै, प्रारम्भिक बालविकास शिक्षक, विद्यालय कर्मचारी र शिक्षण सिकाइ अनुदानमा कार्यरत शिक्षकलाई तलब, महँगी भत्ता तथा प्रोत्साहन भत्ता उपलब्ध गराउनुपर्ने, स्थानीय भत्तामा रहेको विभेद अन्त्य गर्नुपर्ने र निजी स्रोत तथा संस्थागत विद्यालयका शिक्षक–कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नुपर्ने माग पनि महासंघको छ।
नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गङ्गाराम तिवारीले विद्यालय कर्मचारीको दरबन्दी सुनिश्चित गर्नुपर्ने मागलाई आन्दोलनमा प्राथमिकता दिइए आफूहरू सहभागी हुने बताए। उनका अनुसार लामो समयदेखि अनुदानमा कार्यरत करिब ३० हजार विद्यालय कर्मचारीको भविष्य सुनिश्चित गर्न सरकारले स्थायी दरबन्दी, सम्मानजनक अवकाश सुविधा, उपदान तथा औषधि उपचारको व्यवस्था गर्नुपर्नेछ।
महासंघले सरकारलाई विगतका सहमति कार्यान्वयन गरी शिक्षक तथा कर्मचारीका माग वार्ता र संवादमार्फत समाधान गर्न आग्रह गरेको छ। माग सम्बोधन नभए आन्दोलन थप कडा बनाउने चेतावनी महासंघको छ।