© 2026
चन्द्रौटा । पछिल्लो समय निजी विद्यालयले शिक्षामा गुणस्तरीयता प्रदान गर्न रचनात्मक कार्य गर्न थालेका छन् । रचनात्मक कार्य मात्र नभए सामाजिक उत्तरदायित्व समेत बहन गर्ने गरेका छन् । सोहि अन्तर्गत कपिलवस्तुको अक्सफोर्ड इंग्लिस बोर्डिङ स्कूलले विद्यार्थीलाई स्वास्थ्य शिविर गरेको छ ।
शिवराज नगरपालिका(३, खरेन्द्रपुरमा अवस्थित सो स्कूलले शुक्रबार उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै शिविर आयोजना गरेको प्रधानाध्यापक दिनेश भट्टराईले बताए । विद्यार्थीहरुको स्वास्थ्य समस्या भए पठनपाठन प्रभावित हुने भएकोले यो कार्यक्रम गरेको बताउँदै एमबिबिएस डाक्टरले चेकजाँच गरिएको उनले जिकिर गरे । भट्टराईले भने शिक्षा र स्वास्थ्य बीच पारसपारिक सम्बन्ध रहेकोले अध्ययनसँगै स्वास्थ्य पनि उत्तिकै महत्वपूर्ण छ ।
यस्तै स्थानीय अभिभावक राम नरेश धोवीले स्वास्थ्य शिविरले पठनपाठनमा थप सहयोग पुग्ने भएको बताए । सामाजिक उत्तरदायित्व पूरा गर्दै अतिरिक्त क्रियाकलाप समेत वृद्धि भएको उनको भनाइ छ । विद्यार्थीहरुको समस्यालाई मध्यनजर गर्दै शिविरसँगै थप प्रभावकारी कार्यक्रम आवश्यक रहेको उनले बताए । स्कूलमा अध्ययनरत करिब ३ सय विद्यार्थीहरूको स्वास्थ्य जाँचसँगै औषधि उपचारका लागि समेत सिफारिस गरिएको स्कूलका शिक्षक नारायण भण्डारीले जनाए ।