Butwal Today

रोल्पा पहिरो अपडेट : १५ घर विस्थापित तीन जनाको मृ’त्यु

२९ श्रावण २०८३, शुक्रबार
अ+
अ-

रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिकामा लगातारको वर्षासँगै आएको पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको छ । सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ भने गाउँपालिका–१ घुसबाङ, छनबाङ क्षेत्रमा १५ घर विस्थापित भएका छन् । पहिरोका कारण घर, कच्ची पुल, लघु जलविद्युत् आयोजना तथा स्थानीय संस्थाको भवनसमेत क्षतिग्रस्त भएको स्थानीयले बताएका छन् ।

शुक्रबार बिहान करिब ८ः१० बजे सुनछहरी गाउँपालिका–२ फलबाङका स्थानीय वीरु घर्ती मगरको घर पहिरोले पुरिँदा घरभित्र रहेका तीन जना बेपत्ता भएका थिए। घटना लगत्तै स्थानीय बासिन्दा र सुरक्षाकर्मीले बेपत्ताको खोजी सुरु गरेका थिए । खोजी गर्ने क्रममा बिहान करिब ११ः३० बजे तीनै जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । पहिरोमा परी मृत्यु हुनेमा सुनछहरी गाउँपालिका–२ फलबाङका ७७ वर्षीय वीरु घर्ती मगर, ६८ वर्षीया सनी घर्ती मगर र ७० वर्षीया लली घर्ती मगर रहेका छन् । उनीहरूको शव पहिरोले पुरिएको घरबाट निकालिएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी कृष्ण श्रेष्ठले पहिरोमा परी तीन जना बेपत्ता भएको जानकारी प्राप्त भएपछि खोजी तथा उद्धारका लागि टोली परिचालन गरिएको र खोजीका क्रममा तीनै जनाको शव फेला परेको बताएका छन् । उनले घटनाबारे थप विवरण संकलन भइरहेको बताएका छन् ।यसैगरी सुनछहरी गाउँपालिका–१ घुसबाङ, छनबाङ क्षेत्रमा पहिरोका कारण १५ घर विस्थापित भएका छन् । पहिरोले स्थानीय ऋषि घर्ती मगरको घर पूर्ण रूपमा पुरिएर क्षति भएको स्थानीयले बताएका छन् । पहिरोका कारण बस्तीमा रहेका अन्य घरसमेत जोखिममा परेपछि स्थानीय बासिन्दालाई सुरक्षित स्थानतर्फ सार्न थालिएको बताइएको छ ।

स्थानीय बासिन्दा पुष्टमा घर्ती मगरका अनुसार पहिरोका कारण छनबाङ क्षेत्रमा १५ घर विस्थापित भएका छन्। जोखिममा रहेका परिवारलाई धाङधुङ क्षेत्रमा सार्ने काम भइरहेको उनले बताएका छन् । घटनास्थलमा अहिलेसम्म प्रहरी पुग्न नसकेको र स्थानीय बासिन्दा आफैँले उद्धार तथा विस्थापित परिवारलाई सुरक्षित स्थानमा लैजाने काम गरिरहेको उनले बताएका छन् । उनका अनुसार पहिरोले एउटा कच्ची पुलसमेत बगाएको छ । पुल बगाएपछि स्थानीय बासिन्दाको आवतजावत प्रभावित भएको उनले बताएका छन् । सडक तथा पुलमा क्षति पुगेका कारण उद्धार तथा राहतका सामग्री घटनास्थलसम्म पुर्‍याउनसमेत कठिनाइ भएको स्थानीयले बताएका छन् ।

पहिरोका कारण २२ किलोवाट क्षमताको लघु जलविद्युत् आयोजनामा समेत क्षति पुगेको बताइएको छ । विद्युत् संरचनामा क्षति पुगेपछि स्थानीय क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुनसक्ने स्थानीयले बताएका छन् । क्षतिको विस्तृत विवरण भने सम्बन्धित निकायबाट स्थलगत निरीक्षणपछि मात्र यकिन हुने बताइएको छ । पहिरोले छनबाङ टोल विकास संस्थाको भवन तथा कार्यालयमा समेत क्षति पुर्‍याएको स्थानीयले बताएका छन् । संस्थाले उत्पादन गरेको मकैमा समेत क्षति पुगेको बताइएको छ। पहिरोका कारण स्थानीयको घर तथा भौतिक संरचनामा मात्रै नभई कृषि उत्पादनमा समेत क्षति पुगेको स्थानीय बासिन्दाले बताएका छन् ।

वर्षाका कारण रोल्पाका ग्रामीण तथा पहाडी क्षेत्रमा पहिरोको जोखिम बढेको छ। भिरालो भू–बनोटका कारण सामान्य वर्षामै समेत पहिरो जाने सम्भावना रहने भएकाले स्थानीय बासिन्दालाई जोखिमयुक्त स्थानबाट सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ । प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा क्षतिको मूल्यांकन आवश्यक देखिएको स्थानीयले बताएका छन् । सुनछहरी गाउँपालिकाका प्रभावित बस्तीमा विस्थापित परिवारका लागि सुरक्षित आवास, खाद्यान्न, खानेपानी, स्वास्थ्य सेवा तथा अन्य अत्यावश्यक सामग्रीको आवश्यकता रहेको स्थानीयले बताएका छन् । पहिरोका कारण अवरुद्ध सडक तथा पुल तत्काल सञ्चालनमा ल्याउन सकेमा उद्धार र राहत वितरणमा सहज हुने उनीहरूले बताएका छन् ।

प्रहरी तथा स्थानीय तहबाट घटनाको थप विवरण संकलन तथा क्षतिको मूल्यांकन गर्ने काम भइरहेको बताइएको छ । पहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिको पूर्ण विवरण स्थलगत अध्ययनपछि मात्र सार्वजनिक हुने जिल्ला प्रहरी कार्यालय र स्थानीय बासिन्दाले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?