© 2026
बुटवल । बुटवलस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयमा खुला प्रतिस्पर्धाबाट विष्णुहरि ज्ञवाली प्रधानाध्यापक नियुक्त भएका छन्।बुटवल उपमहानगरपालिकाले प्रधानाध्यापक छनोटका लागि आह्वान गरेको विज्ञापनअनुसार प्रतिस्पर्धामा सहभागी शिक्षकहरूमध्ये माध्यमिक तह द्वितीय श्रेणीमा कार्यरत ज्ञवालीलाई आगामी पाँच वर्षका लागि प्रधानाध्यापक नियुक्त गरिएको हो।
बुधबार बुटवल उपमहानगरपालिकाबाट नियुक्तिपत्र बुझेका ज्ञवालीले बिहीबार विद्यालयमा पदभार ग्रहण गरेका हुन्। विद्यालय व्यवस्थापन समितिले आयोजना गरेको पदस्थापन तथा पूर्वप्रधानाध्यापकलाई धन्यवाद ज्ञापन कार्यक्रममा निमित्त प्रधानाध्यापक पीताम्बर बन्जाडेले ज्ञवालीलाई पदभार हस्तान्तरण गरे।कार्यक्रममा विद्यालयका पूर्वप्रधानाध्यापक तथा बुटवल कालिका क्याम्पसका क्याम्पस प्रमुख घनश्याम पाठकले प्रधानाध्यापक विद्यालयको प्रशासन सञ्चालन गर्ने पद मात्र नभई समुदाय, विद्यालय, विद्यार्थी र सरकारलाई जोड्दै गुणस्तरीय शिक्षाका लागि निरन्तर काम गर्ने नेतृत्वकर्ता भएको बताए।
उनले शिक्षक र समुदायबीचको एकता तथा प्रधानाध्यापकको स्पष्ट लक्ष्यका कारण कालिका मानवज्ञान देशकै ठूलो र उत्कृष्ट सामुदायिक विद्यालयका रूपमा स्थापित भएको उल्लेख गर्दै यसबाट देशभरका सामुदायिक विद्यालयले सिक्न सक्ने बताए। नवनियुक्त प्रधानाध्यापक ज्ञवालीले विद्यालयको नेतृत्व गरिसकेका पूर्वप्रधानाध्यापकहरूको योगदानको स्मरण गर्दै शिक्षक–कर्मचारी, अभिभावक र स्थानीय सरकारबीचको सम्बन्धलाई अझ सुदृढ बनाउँदै विद्यालयको शैक्षिक तथा भौतिक अवस्थालाई थप उचाइमा पुर्याउने प्रतिबद्धता जनाए।
निवर्तमान प्रधानाध्यापक दिनेश थापाले आफ्नो पाँच वर्षे कार्यकालमा विद्यालयले राष्ट्रियस्तरमा उत्कृष्ट पहिचान बनाउन सफल भएको बताए। उनले आगामी दिनमा शिक्षकका रूपमा विद्यालयमा रहेर विगतकै उत्साहका साथ योगदान गर्ने प्रतिबद्धता जनाए। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजेन्द्र खनाल, निवर्तमान अध्यक्ष नित्यानन्द ज्ञवाली, शिक्षक–अभिभावक संघका अध्यक्ष इन्द्रमणि अर्याल, बुटवल कालिका क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर गलामी, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीलगायतले पूर्वप्रधानाध्यापकहरूको योगदानको प्रशंसा गर्दै नवनियुक्त प्रधानाध्यापक ज्ञवालीलाई सफल कार्यकालको शुभकामना दिए।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति तथा शिक्षक–अभिभावक संघका वर्तमान तथा पूर्वपदाधिकारी, स्थानीय समाजसेवी, अक्षयकोषदाता, पूर्वप्रधानाध्यापक र शिक्षकहरूको सहभागिता रहेको थियो।