© 2026
काठमाडौँ ।
नेवार समुदायले चान्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिना मनाउने गुँला पर्व आजदेखि सुरु भएको छ ।
काठमाडौँ उपत्यकालगायत विभिन्न स्थानमा यो पर्व विशेष रुपमा मनाइन्छ । मानव जीवनलाई तुल्याउन नियमलाई पालना गरेर धर्म, कर्मका गर्ने उद्देश्यले यो पर्व मनाइने गरिदैआएको छ । नेपाल संवत्अनुसार दशौँ महिनालाई गुँला भनिन्छ ।
गुँको अर्थ गुण गर्ने, राम्रो एवं गुनिलो काम, अरुको उपकार गर्ने कामलाई जनाउँछ । उक्त पर्वका अवसरमा जुन नियमले जीवनलाई राम्रो गर्छ, त्यसलाई पालना गरिन्छ । उक्त पर्व र यस महिनाका सन्दर्भमा अग्लो खाटमा नसुत्ने, मनोरञ्जन नगर्ने र समयमै भोजन गरिन्छ भने क्षमताअनुसार भित्री मनदेखि दान गर्ने प्रचलन छ ।
यस महिनाभर स्वयम्भू महाचैत्यमा विशेष मेला लाग्ने भएकाले आज बिहानैदेखि भक्तजन स्वयम्भूनाथ मन्दिर पुगेका पुग्नुभएको छ । राजधानी सहरका विभिन्न भागबाट गुँला बाजा बजाएर स्वयम्भू पुग्ने भक्तजनको प्रत्येक वर्ष यो महिनामा घुइँचो हुन्छ । वर्षभर निधन भएका व्यक्तिको नामबाट श्रृङ्गभेदीअर्थात् भैँसीको सिङबाट बनेको बाजा बजाएर स्वयम्भू पुग्ने भक्तजन धेरै हुन्छन् ।
काठमाडौँ महानगरपालिका–७ चाबहिलका स्थानीय रमेश डङ्गोलले धिमे बाजा, बाँसुरी, पछिमा (ढोलक जस्तै बाजा) बजाएर मन्दिर घुमी गुँला पर्व मनाउने गरिएको बताए । चाबहिलमा चन्द्रविनायक पर्खालभित्रबाट घुम्ने गरिन्छ ।
झरीले रोगव्याधिलगायतको आक्रमण गर्ने भएकाले मन्दिर घुमी प्रार्थना गर्दा शरीर स्वस्थ हुने गरेको उनको अनुभव छ । यो पर्वका अवसरमा मनाइने केपु बाजाको पूजा आराधना गर्ने परम्परा भने पछिल्लो समय जनशक्ति अभावले लोप हुन थालेको छ ।
चाबहिल क्षेत्रमा घरघरमा गरिने यो परम्परालाई हाल यहाँको नाट्येश्वरमा बाजा पूजा गरी निरन्तरता दिइएको छ । चाबहिलबाट पनि विगत वर्षदेखि नै महिनाभरमा एक दिन भए पनि फुर्सद मिलाएर विभिन्न थरी बाजा बजाउँदै स्वयम्भू घुम्न जाने गरिँदै आएको उनले बताए ।