© 2026
काठमाडौँ । नेपाली कांग्रेसले निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीमा अभिभावकीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन। बिहीबार सभापति गगन थापाको सभापतित्वमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले देउवाको स्वदेश आगमनको स्वागत गर्दै यस्तो निर्णय गरेको हो।
बैठकपछि प्रवक्ता देवराज चालिसेले जारी गरेको विज्ञप्तिमा पार्टीमा वैधानिक परिवर्तनलाई संस्थागत गर्दै समयसापेक्ष र गतिशील कांग्रेस निर्माणमा देउवाबाट अभिभावकीय भूमिका अपेक्षा गरिएको उल्लेख छ। कांग्रेसले देउवाले लोकतान्त्रिक आन्दोलनमा गरेको नेतृत्व तथा पार्टीको इतिहास निर्माणमा पुर्याएको योगदानप्रति सम्मानसमेत व्यक्त गरेको छ। साथै, लामो समयको स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका देउवाको पूर्ण स्वास्थ्यलाभको कामना गरेको छ।
देउवा बिहीबार हङकङ हुँदै बैंककबाट नेपाल फर्किएका हुन्। उनको स्वागतका लागि कांग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।