Butwal Today

काँग्रेस र जनमतका पालिका सभापतिले छाडे पार्टी

२७ श्रावण २०८३, बुधबार
अ+
अ-

नवलपरासी । नेपाली काँग्रेस सुस्ता गाउँपालिका सभापति रविन्द्र जैसवालले पार्टी परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । सुनवलस्थित रिबर्न होटलमा रास्वपाले आयोजना गरेको कार्यक्रममा जैसवालले काँग्रेस परित्याग गरेको घोषणा गर्दै रास्वपामा समाहित भएको बताए ।

जैसवालसँगै काँग्रेस, एमाले, जनमतलगायत विभिन्न राजनीतिक दलका झन्डै ३ सयभन्दा बढी नेता तथा कार्यकर्ता रास्वपा प्रवेश गरेको बताइएको छ ।

रास्वपाका जिल्ला सभापति रवि पाण्डे र सोही क्षेत्रका प्रतिनिधिसभा सदस्य विक्रम खनालले नवप्रवेशीलाई पार्टीमा स्वागत गरेका थिए । काँग्रेस सुस्ता गाउँपालिका सभापति जैसवाल र जनमत पार्टी सुस्ता गाउँपालिका अध्यक्ष शत्रुधन यादवको नेतृत्वमा उनीहरू रास्वपा प्रवेश गरेका हुन् ।

कांग्रेसभित्र गुटबन्दी अन्त्य हुन नसकेको र पार्टी फुटको सङ्घारमा पुगेको भन्दै जैसवालले पार्टी परित्याग गरेको बताए । अदालतले काँग्रेससम्बन्धी मुद्दा पुनरावलोकन गर्न दिएको अवस्थामा समेत पार्टीभित्र गुटबन्दी कायम रहेको उनको भनाइ थियो ।

जैसवालसँगै ठूलो संख्यामा नेता तथा कार्यकर्ता रास्वपा प्रवेश गर्नुमा जिल्ला तहको नेतृत्वप्रतिको असन्तुष्टि मुख्य कारण रहेको बताइएको छ ।

केही दिनअघि मात्रै नेपाली कांग्रेसका जिल्ला सचिव एवं प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले सुस्ता गाउँपालिका निवासी जनमत पार्टीका केन्द्रीय सदस्य तथा प्रदेशसभा उम्मेदवार असरफ अलि चुरीहारलाई काठमाडौं लगेर काँग्रेस सभापति गगन थापाको हातबाट पार्टी प्रवेश गराएका थिए ।

उक्त घटनापछि जैसवाल र यादव असन्तुष्ट बनेको र त्यसकै प्रतिक्रिया स्वरूप ‘एकको बदलामा सयौँ’ भन्दै रास्वपा प्रवेश गरेको बताइएको छ । यसअघि पनि काँग्रेस सुस्ता गाउँपालिका सभापति जैसवालमाथि फागुन २१ गते सम्पन्न निर्वाचनमा रास्वपाका उम्मेदवारलाई सहयोग गरेको आरोप लाग्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?