Butwal Today

थुनुवा–कैदीको मानव अधिकार अवस्थाबारे उपसमितिको प्रतिवेदन कार्यान्वयन गरिने

२७ श्रावण २०८३, बुधबार
अ+
अ-

काठमाडौँ । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीको मानवअधिकार अवस्थासम्बन्धी अध्ययन तथा अनुगमन गर्न गठित उपसमितिको प्रतिवेदन ग्रहण गर्दै कार्यान्वयन गराउने भएको छ ।

समितिको आज भएको बैठकको निर्णयअनुसार विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीको मानवअधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन गर्न गठित उपमितिको प्रतिवेदनमाथि समितिका सदस्यबाट लिखित सुझाव माग गरी आगामी बैठकमा निर्णय गरिने जनाइएको छ । सांसद स्मृति सेन्चुरीको संयोजकत्वमा गठित उपसमितिले आज बैठकमा प्रतिवेदन पेस गरेका थिए । प्रतिवेदनमाथि छलफल गर्ने र प्राप्त सुझावलाई समेत समेटी प्रतिवेदनलाई थप कार्यान्वयनयोग्य तथा व्यवहारिक बनाइने समितिका सभापति समीक्षा बास्कोटाले जानकारी दिए ।

त्यस्तै, समितिमा प्राप्त भएका तथा थप उजुरीहरूको अध्ययन तथा विश्लेषण गरी समितिमा छलफल गर्नुपर्ने र नपर्ने विषयको वर्गीकरण गर्ने, सम्बन्धित सरोकारवाला पक्षलाई जानकारी दिनेसमेत उद्देश्यका साथ कार्य अघि बढाउने निर्णय भएको छ । यसका लागि समितिले ‘उजुरी अध्ययन तथा सिफारिस उपसमिति’ गठन गर्ने निर्णय गरेको हो । सात सदस्यीय उक्त उपसमितिको संयोजकमा सांसद मधुकुमार चौलागाईं रहनुभएको छ । उपसमितिमा बलावती शर्मा, मनमाया विश्वकर्मा, रुविना आचार्य, सरस्वती लामा, सुष्मा स्वर्णकार डिम्पल र साजिदा खातुन सिद्धिकी सदस्य रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?