Butwal Today

प्रधानमन्त्रीलाई संसदमा आउन सभामुखको आग्रह

२६ श्रावण २०८३, मंगलवार
अ+
अ-

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र सभामुख डोलप्रसाद अर्यालबीच मंगलबार दिउँसो भेटवार्ता भएको छ। भेटमा संघीय संसदको जारी अधिवेशन तथा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ।

भेटका क्रममा सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई संसदमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन आग्रह गरेको स्रोतले जनाएको छ। पछिल्लो समय प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री संसदमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिनुपर्ने माग गर्दै आएका छन्। स्रोतका अनुसार सभामुखले प्रधानमन्त्रीलाई कम्तीमा केही समय भए पनि सदनमा उपस्थित भएर सांसदहरूसँग प्रत्यक्ष संवाद गर्न आग्रह गरेका थिए। तर, प्रधानमन्त्री शाहले तत्काल संसदमा उपस्थित हुने विषयमा ठोस प्रतिबद्धता नजनाएको बताइएको छ।

प्रधानमन्त्रीको संसदमा उपस्थितिको विषय यसअघि पनि विवादमा आएको थियो। मे महिनामा उनको अनुपस्थितिलाई लिएर विपक्षी दलका सांसदहरूले संसदमा विरोध तथा नाराबाजी गरेका थिए। संसद्को नियमअनुसार प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको मागसमेत उठाइएको थियो। शाह भने मे ३१ मा प्रतिनिधिसभामा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका थिए। त्यो उनको प्रधानमन्त्री बनेपछि संसदमा भएको पहिलो प्रश्नोत्तर थियो।

मंगलबारको भेटपछि भने प्रधानमन्त्री पुनः संसदमा कहिले उपस्थित हुने भन्ने स्पष्ट भएको छैन। यसले प्रधानमन्त्रीको संसदप्रतिको जवाफदेहिता र सरकार तथा विपक्षीबीचको सम्बन्धबारे राजनीतिक बहसलाई फेरि चर्काउने संकेत देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?