© 2026
सल्यान । कर्णाली प्रदेशको प्रवेशद्वारका रूपमा रहेको सल्यानको कपुरकोट क्षेत्र यतिखेर बेमौसमी ताजा तरकारीको कारोबारले गर्दा आर्थिक चहलपहलको केन्द्र बनेको छ । पहाडी चिसो हावापानी, उपयुक्त माटो र व्यावसायिक किसानहरूको मिहिनेतका कारण नेपालकै प्रमुख बेमौसमी तरकारी हबका रूपमा परिचित कपुरकोट हाटबजारमा मंगलबार आज किसानहरुले लाखौं रुपियाको तरकारी बिक्रि गरेका छन् ।
कृषि उपज बजार केन्द्र कपुरकोटका अनुसार न्युनतम १० रुपिया प्रतिकिलो देखि २०० रुपिया किलोसम्म कृषि उपजको कारोबार भएको छ । मंगलबारको हाटबजारमा मुख्य उपजका रूपमा रहेको टमाटर प्रति किलो ३५ रुपैयाँदेखि ४३ रुपैयाँसम्म बिक्री भएको छ भने बिएसएस जातको टमाटर २८ रुपैयाँदेखि ४० रुपैयाँमा कारोबार भएको छ । यस्तै बन्दागोभी ३५ देखि ३९ रुपैयाँ र फूलगोभी ४५ देखि ६० रुपैयाँ प्रतिकिलो बिक्रि भएको बजार केन्द्रले जनाएको छ ।
त्यसैगरी खुर्सानीको माग उच्च रहेको मंगलबारको बजारमा भेडे खुर्सानी प्रति किलो ६० देखि ८० रुपैयाँ, मोटो खुर्सानी ३० देखि ४० रुपैयाँ, मसिनो खुर्सानी ६० देखि ७० रुपैयाँ, अकबरे खुर्सानी ५० देखि ६० रुपैयाँ र माछे खुर्सानी ४० देखि ६० रुपैयाँमा थोक मूल्यमा किनबेच भएको छ । सिमी प्रतिकिलो ५० देखि ६५ रुपैयाँ, लोकल काँक्रो २० देखि २५ रुपैयाँ र उन्नत पानि काँक्रो १० देखि १३ रुपैयाँमा बिक्री हुँदा मुला अधिकतम २५ रुपैयाँ प्रति किलो सम्म पुगेको छ ।
आजको बजारमा विशेषगरी अदुवा र हरियो धनियाँले सबैभन्दा उच्च मूल्य पाएका छन् । अदुवा प्रति किलो १३० रुपैयाँदेखि १४५ रुपैयाँसम्म र हरियो धनियाँ १५० रुपैयाँदेखि २०० रुपैयाँ प्रति किलो थोक मूल्यमा बिक्री भएको हो । यसबाहेक कागती अधिकतम ८० रुपैयाँ, हरियो साग ६० रुपैयाँ, तिते करेला ३० देखि ४० रुपैयाँ र भान्टा ३० देखि ४० रुपैयाँ प्रतिकिलो बिक्रीवितरण भएको कृषि उपज बजार केन्द्र कपुरकोटले जनाएको छ । कपुरकोट स्थित तरकारी हाटबजार हप्ताको दुई दिन मङ्गलबार र शुक्रबार लाग्ने गर्दछ भने गाउँपालिकाका विभिन्न सहायक बजारमा अन्य बारमा पनि तरकारी संकलन हुँदै आएको छ ।
हरेक वर्ष जेठ महिनादेखि सुरु भई कार्तिकरमंसिरसम्म सञ्चालन हुने ६ महिनाको मुख्य सिजनमा कपुरकोट मुख्य हाटबजार र यसका सहायक संकलन केन्द्रहरूबाट मात्रै वार्षिक ३० करोड रुपैयाँभन्दा बढीको ताजा तरकारी देशका विभिन्न स्थानमा निकासी हुने गरेको छ । बजार केन्द्रका अनुसार गत वर्ष जेठ अन्तिम सातादेखि मंसिरसम्म ७८ लाख ९५ हजार ९३६ किलो तरकारी बिक्रीबाट ३० करोड ५१ लाख २२ हजार ७२५ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
यहाँबाट निर्यात हुने बेमौसमी तरकारी मध्ये टमाटर, भेडे खुर्सानी, बन्दागोभी, काउली, सिमी र अदुवाको हिस्सा सबैभन्दा ठूलो रहेको छ । तराईका सहरहरू दाङ, नेपालगञ्ज, बुटवल, भैरहवा, सुर्खेत, कैलालीका साथै राजधानी काठमाडौँ, पोखरा र धनगढीमा समेत मध्यपहाडी चिसो हावापानीमा फलेको कपुरकोटको बेमौसमी तरकारीको माग उच्च रहने गरेको छ । यति मात्र नभई सीमावर्ती भारतीय बजारहरूसम्म पनि कपुरकोटको तरकारी पुग्ने गरेको छ ।
कपुरकोटमा वि।सं। २०४७ सालदेखि व्यावसायिक रूपमा बेमौसमी तरकारी खेती सुरु भएको हो । तराई र सहरी क्षेत्रमा गर्मी तथा वर्षाका कारण उत्पादन घट्ने जेठदेखि मंसिरसम्मको अवधिमा यहाँको चिसो हावापानी र पहाडी भूगोलले प्रशस्त तरकारी उत्पादन हुने भएकाले कपुरकोट बेमौसमी तरकारी उत्पादनको प्रमुख केन्द्रका रूपमा स्थापित हुँदै आएको छ ।