© 2026
काठमाडौँ । सांसदहरूले मुलुकका विभिन्न भागमा बाढीपहिरोबाट जनधनको क्षति भएको र आवतजावतमा अवरोध भएकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै समाधानका लागि प्रभावकारी काम गर्न माग गरे ।
प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक समयमा उनीहरूले किसानले रोपाइँ सकेर रासायनिक मलको पर्खाइमा रहेको जनाउँदै तत्काल मल आपूर्तिको व्यवस्था मिलाउन आग्रह गरे ।
बैठकमा सांसद आशिष गजुरेलले सडक दुर्घटनाबाट दैनिक आठ जनाको मृत्यु हुने गरेको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै सिन्धुलीमा यही साउन १८ गते बसले ठक्कर दिँदा कार नदीमा खसेको र तीन जना बेपत्ता भई हालसम्म फेला नपरेको भन्दै उद्धार कार्यलाई सशक्त बनाउन माग गरे । उनले सडक सुरक्षा प्रभावकारी बनाउन सके ठूलो मात्रामा दुर्घटना कम गर्न सकिने बताए ।
सांसद इन्दिरा रानामगरले आइतबार भक्तपुरको सुधार केन्द्रमा एक जनाको मृत्यु भएको घटना दुःखद भएको उल्लेख गर्दै सुधार केन्द्रमा सिर्जनात्मक काम सिकाउनुपर्ने, खुला क्षेत्र हुनुपर्ने र सरकारले नियमित अनुगमन गर्नुपर्ने माग गरिन् ।
सांसद पार्वती विकले गए राति जाजरकोट सदरमुकाममा पहिरोले क्षति पुर्याई आवतजावत नै बन्द भएको जानकारी गराउँदै दीर्घकालीन समाधानका लागि सरकारको ध्यानाकर्षण गराइन् । साथै, उनले किसानले रोपाइँ सकेर रासायनिक मलको पर्खाइमा रहेकोप्रति सरकारको ध्यानाकर्षण गराइन् । उनले खाना पकाउने ग्यासको अभावमा जनताको चुलो नबलेको बताउँदै तत्काल समाधान गर्न माग गरिन् ।
सांसद प्रकाश सिंह कार्कीले मन्त्रिपरिषद् बैठकले केही दिनअघि गरेको नेपाल इन्टरमोडल ट्रान्सपोर्ट डेभलपमेन्ट बोर्डलाई खारेज गरी नेपाल ट्रान्जिट वेयर हाउस कम्पनी लिमिटेडमा गाभ्ने निर्णयमा पुनर्विचार गर्न माग गरे । उनले दुवै संस्थाका उद्देश्य र काम फरक भएको उल्लेख गर्दै दुवै संस्थाको आवश्यक सुधार गरी सुदृढ बनाउन मागसमेत गरे ।
सांसद समीक्षा बाँस्कोटाले मेची राजमार्गको माइखोला खण्डमा पहिरोका कारण सडक अवरुद्ध भएको र हरेक वर्ष यात्रुले सास्ती भोग्नुपरेको भन्दै तत्काल दिगो समाधान खोज्न सरकारसँग माग गरिन् ।
सांसद आशिका तामाङले वर्षायाममा खोलाहरूबाट ढुङ्गा र बालुवा निकाल्न निषेध गरिएको भए पनि धादिङलगायत ठाउँमा ढुङ्गा र बालुवा निकाल्ने काम गरिएकोप्रति सरकारको ध्यानाकर्षण गराइन् । साथै, उनले खानी सञ्चालनसम्बन्धी ऐन संशोधन गरेर समयअनुकूल बनाउनुपर्ने माग गरिन् ।
सांसद रमेश मल्लले सल्यानबाट स्याङ्जा जाँदै गर्दा आधीखोलामा डुबेर युवा बलदेव बस्नेत बेपत्ता भएको जानकारी गराउँदै उनको खोजी तथा उद्धार गर्न सरकारसँग माग गरे । साथै, पश्चिम सल्यानमा खडेरीका कारण कृषकले धानखेती गर्न नपाएको उल्लेख गर्दै तत्काल सुक्खाग्रस्त घोषणा गरी राहत र दीर्घकालीन समस्या समाधान गर्न सरकारसँग आग्रह गरे ।
सांसद बोधनारायण श्रेष्ठले सुरक्षित यात्राका लागि सडक मात्रै राम्रो भएर नहुने, सवारी चालकको स्वास्थ्यबारे पनि ध्यान दिनुपर्नेमा जोड दिँदै प्रत्येक छ महिनामा सवारी चालकको स्वास्थ्य परीक्षण गर्नुपर्ने बताए । उनले नेपाल सरकार र यातायात व्यवसायीसँग सहकार्य गरेर सवारी चालकको स्वास्थ्यको विषयमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याए ।
सांसद ताहीर अलि भाटले रुपन्देहीमा तीनदेखि सुकुम्बासीलाई जग्गा बाँड्दै गरेको भनी धेरै प्रचारबाजी भए पनि यसअघिको सरकारले ५०० भन्दा बढी घरधुरीलाई जग्गा वितरण गरिसकेको पनि बिर्सन नहुने बताए । साथै, उनले प्रचारबाजी गर्नुभन्दा पनि सुकुम्बासीको दिगो समाधानमा लाग्न आग्रह गरे ।
सांसद प्रकाश पाठकले वैदेशिक रोजगारमा गएका बेला धेरै देशमा सङ्कटमा पर्ने क्रम बढ्दै गएको भन्दै विदेशी भूमिमा कति नेपाली सङ्कटमा परेका छन्, कति जेलमा छन् भन्नेबारे अध्ययन गरी परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल गर्नुपर्ने माग गरे ।
सांसद राजेन्द्रकुमार राईले धनकुटाका नवराज तामाङ पढ्न आएको अवस्थामा गत असार २३ गतेदेखि हराएको र कतै पनि नभेटिएकोप्रति सरकारको ध्यानाकर्षण गराए । उनले निजको तत्काल खोजी गर्न सरकारसँग माग गरे ।
सांसद कामिनी कुमारीले महोत्तरीको जलेश्वर कारागार अत्यन्तै जीर्ण अवस्थामा रहेको हुँदा कैदीबन्दीको सुरक्षा निकै कठिनाइ भएकोप्रति सरकारको ध्यानाकर्षण गराइन् । उनले ३०० जना क्षमता भएको कारागारमा ५०० भन्दा बढी कैदी रहेको अवस्थामा समेत तत्काल कारागार पुनर्निर्माण गर्न माग गरिन् ।