Butwal Today

३८ दिन हिरासतमा बिताएका किसान भन्छन्– ‘हामी बाध्य भएर भारत गएका थियौँ’

२४ श्रावण २०८३, आइतबार
अ+
अ-

काठमान्डौँ ।

रासायनिक मल लिन भारत जाँदा पक्राउ परेर ३८ दिनसम्म भारतीय प्रहरीको हिरासतमा बसेका सर्लाहीका दुई किसानले आफूहरू बाध्यतावश भारत पुगेको बताएका छन् ।

नेपालमा अनुदानको मल अपुग भएपछि भारतीय मल लिन जाँदा सर्लाहीको सीमावर्ती बलरा नगरपालिका–५, अर्नाहा स्थायी घर भई मलङ्गवा नगरपालिका–१० मा बसोबास गर्दै आएका ६४ वर्षीय नागेन्द्रप्रसाद सिंह र उनका भाइ ६२ वर्षीय सुरेशप्रसाद सिंह पक्राउ परेका थिए । उनीहरू सीतामढी व्यवहार अदालतको आदेशअनुसार जनही १० हजार भारतीय रुपैयाँ धरौटी बुझाएर हिरासतमुक्त भई शुक्रबार साँझ घर फर्किएका हुन् ।

नेपाल आएपछि दाइ नागेन्द्रप्रसाद खेतीपातीका लागि शनिबार बिहानै बलरास्थित गाउँको घर गएका छन् भने भाइ सुरेशप्रसाद मलङ्गवास्थित घरमै बसेका छन् ।

गत असार १७ गते भारतको सोनवर्षाबाट साइकलमा एक–एक बोरा युरिया मल लिएर आउँदै गर्दा भारतीय सीमा सुरक्षा बल ९एसएसबी० ले आफूहरूलाई पक्राउ गरी डुमरा थानामा लगेको सुरेशप्रसादले बताए ।

आफूहरू किसान रहेको र धान खेतीका लागि एक बोरा मल लिन आएको बताए पनि एसएसबीले लछारपछार पारेर थुनामा लगेको उनको भनाइ छ । तस्करीको आरोपमा ३८ दिनसम्म हिरासतमा राखिएको सुरेशप्रसादले बताए ।

आफूहरूले दुई बोरा मल मात्र ल्याएको भए पनि पछि मुद्दा चलाउने क्रममा थप ६ बोरा डीएपी मलसमेत बरामद भएको देखाइएको उनले बताए । उनले भने, “रोपाइँ गर्न यहाँ मल नपाएपछि दाजुभाइ मिलेर सोनवर्षा गएका थियौँ । मल लिएर फर्कंदै गर्दा एक्कासि एसएसबीले पक्राउ गरेर डुमरा थानाको जिम्मा लगाइदिए ।”

आफूहरूलाई प्रत्येक महिना तारिख बुझ्न आउन भनिएको सुरेशप्रसादले बताए ।

घटनापछि सीमावर्ती क्षेत्रका किसान त्रसित बनेका छन् । बलरा नगरपालिका निवासी जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशलकिशोर सिंहका अनुसार नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने मल पर्याप्त नहुँदा सीमावर्ती क्षेत्रका धेरै किसान मल लिन लुकीछिपी भारतीय बजार पुगिरहेका छन् ।

सीमामा कडाइ गरिएकाले मल ल्याउने क्रममा सिंह दाजुभाइ जसरी नै पक्राउ पर्ने हो कि भन्ने डर अन्य किसानमा समेत रहेको जिसस सभापति सिंहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?