© 2026
बुटवल । नारायणी नदीमा पानीको बहाव बढ्दै गाउँ बस्तीमा डुबान र कटानको जोखिम बढेपछि पश्चिम नवलपरासीको सुस्ताका स्थानीयवासी आफैँ अस्थायी तटबन्ध निर्माणमा जुटेका छन् । नदीको पानी बस्तीमा पस्न नदिन स्थानीयले बोरामा बालुवा तथा माटो भरेर नदी किनारमा राख्दै अस्थायी बाँध निर्माण गरिरहेका हुन् ।
सुस्ता गाउँपालिका–५ को सुस्ता थारुटोलदेखि सीमास्थलका रूपमा चिनिने सिमलको रुख आसपासको क्षेत्रमा बुधबारदेखि स्थानीयवासी सामूहिक रूपमा तटबन्ध निर्माणमा खटिएका छन् । बोरामा बालुवा भरेर नाइलनको डोरीले बाँध्दै नदीको बहाव नियन्त्रण गर्ने प्रयास भइरहेको छ ।
सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जैसवालले तत्कालको जोखिम न्यूनीकरण गर्न स्थानीय समुदाय नै अग्रसर भएर अस्थायी संरक्षणको काम गरिरहेको बताए । उनका अनुसार अभियानकी नेतृ लैला बेगमसहित स्थानीयवासी बिहानदेखि साँझसम्म तटबन्ध निर्माणमा सक्रिय छन् ।
“अहिले हाम्रो पहिलो प्राथमिकता गाउँलाई डुबान र नदी कटानबाट जोगाउनु हो,” उनले भने, “स्थायी समाधान नहुँदासम्म स्थानीयकै श्रम र उपलब्ध साधन प्रयोग गरेर अस्थायी बाँध निर्माण गरिरहेका छौँ ।” केही दिनअघि स्थानीयले निर्माण गरेको यस्तै अस्थायी तटबन्ध भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले भत्काइदिएको आरोप सार्वजनिक भएपछि सुस्ताको समस्या राष्ट्रिय रूपमा चर्चामा आएको थियो । त्यसयता स्थानीय, प्रशासन र सम्बन्धित निकायबिच पटक–पटक छलफल भएपछि तत्कालका लागि अस्थायी संरक्षणको काम अघि बढाइएको हो ।
यसअघि नारायणी सिँचाइ तथा जल उत्पन्न प्रकोप व्यवस्थापन आयोजना, भरतपुरले ठेक्का प्रक्रियामार्फत स्थायी तटबन्ध निर्माण सुरु गर्ने तयारी गरेको थियो । तर भारतीय पक्षले माथिल्लो तहको स्वीकृति आवश्यक पर्ने जनाउँदै निर्माणमा अवरोध गरेको स्थानीयको भनाइ छ । त्यसपछि स्थायी संरचना निर्माण रोकिएको र तत्कालका लागि अस्थायी तटबन्ध निर्माणलाई प्राथमिकता दिइएको हो ।
पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले वर्षा याममा नदी कटान र डुबानको जोखिम बढेकाले तत्काल संरक्षणका उपाय अपनाइएको बताए । स्थानीयसँगको छलफलपछि अस्थायी तटबन्ध निर्माण गर्ने सहमति भएको र भारतीय पक्षसँग पनि विपत् न्यूनीकरणका लागि गरिने अस्थायी कार्यप्रति मौखिक सहमति भएको उनले जानकारी दिए ।
सुस्तामा बढ्दो जोखिमलाई ध्यानमा राख्दै नारायणी सिँचाइ तथा नेपाल गण्डक पश्चिम नहर सिँचाइ व्यवस्थापन कार्यालयले अस्थायी तटबन्ध निर्माणका लागि बोरा र नाइलनको डोरी उपलब्ध गराएको छ । स्थानीयले सरकारी निकायबाट प्राप्त सामग्रीसँगै आफ्नै स्रोतबाट समेत बोरा, बालुवा र डोरीको व्यवस्था गरी कामलाई तीव्रता दिएका छन् ।
प्रवक्ता जैसवालका अनुसार नदीको बहाव अझ बढ्ने सम्भावना रहेकाले तटबन्ध निर्माणलाई निरन्तरता दिइएको छ । आवश्यक परे थप श्रम र सामग्री परिचालन गरेर बस्ती सुरक्षित बनाउने तयारी गरिएको उनले बताए ।
बर्सेनि नारायणी नदीको कटान र डुबानका कारण प्रभावित हुँदै आएको सुस्ता क्षेत्रमा दीर्घकालीन तटबन्ध निर्माणको माग स्थानीयले लामो समयदेखि गर्दै आएका छन् । स्थानीयवासीका अनुसार अस्थायी बाँधले तत्कालका लागि केही राहत दिए पनि स्थायी तटबन्ध निर्माण नगरेसम्म हरेक वर्ष वर्षा याममा बस्ती जोखिममा पर्ने अवस्था दोहोरिनेछ ।
स्थानीयले सीमावर्ती क्षेत्रमा देखिएको प्राविधिक तथा प्रशासनिक जटिलता समाधान गर्दै नेपाल र भारतका सम्बन्धित निकायबिच समन्वय गरी दीर्घकालीन तटबन्ध निर्माणलाई शीघ्र अघि बढाउन सरकारसँग आग्रह गरेका छन् ।